विदेशी मुद्रा तोकिएको सीमाभन्दा बढी बोकेको आरोपमा निगमका दुई कर्मचारी नियन्त्रणमा

काठमाडौं — नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार उनीहरू आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्ने तयारीमा थिए। सोही क्रममा उनीहरूसँग तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा रहेको भेटिएपछि नियन्त्रणमा लिइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई विदेशी मुद्रासहित नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार यात्रुले ५ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा लैजान पाउने व्यवस्था रहेकोमा उनीहरूसँग उक्त सीमाभन्दा बढी रकम भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय भने सार्वजनिक गरेको छैन। उनीहरूसँग विदेशी मुद्राको स्रोत, परिमाण तथा घटनासम्बन्धी अन्य विषयमा सोधपुछ भइरहेको जनाएको छ।

प्रहरीले अनुसन्धानबाट थप विवरण खुलेपछि सार्वजनिक गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया