बाढी र पहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। बाढी तथा पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यातायात प्रभावित भएको हो।

गएरातिदेखि परेको निरन्तर वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

अवरुद्ध दुवै सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।

तपाईको प्रतिक्रिया