चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ।

उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ बिग्रिन सक्ने पूर्वानुमानबीच मौसमविद्हरूले सर्वसाधारणलाई सतर्क रहन र घरभित्रै बस्न आग्रह गरेका छन्।

भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरोका अनुसार चट्याङका कारण गत वर्ष देशभरि २,३०० जनाको मृत्यु भएको थियो।

सन् २००५ यता त्यहाँ हरेक वर्ष कम्तीमा २,००० जना ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ।

नेपालको अवस्था के छ?

नेपालमा बिहीवार सप्तरी, मकवानपुर र कपिलवस्तुमा गरेर सात जनाको मृत्यु भएको विवरणहरू प्रकाशित भएका छन्।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले चट्याङका कारण विगत एक वर्षमा कम्तीमा ९२ जनाको ज्यान गएको देखिन्छ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा चट्याङ लागेर एक वर्षमा कम्तीमा ३०० व्यक्ति घाइते र कैयौँ परिवार प्रभावित हुने गरेका छन्।

भारतको मौसमसम्बन्धी निकायले वर्षाका साथै कुन समयावधिभित्र कहाँकहाँ चट्याङ पर्छ भन्ने विषयमा पनि पूर्वानुमान गरी सजग गराउने गरेको छ।

चट्याङ

तर नेपालमा भने चट्याङ पूर्वानुमान गर्ने प्रविधि प्रयोगमा आइनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

धेरै चट्याङ पर्ने ठाउँ

विज्ञहरूका अनुसार नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म बेलुकातिर बढी चट्याङ पर्ने गर्छ।

बङ्गालको खाडीनजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङ विज्ञ बताउँछन्।

“त्यो भनेको झापा-मोरङतिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ। त्यसपछि चुरेक्षेत्र बढी प्रभावित देखिन्छ।”

यद्यपि मृत्यु हुने मानिसको सङ्ख्याका हिसाबले चुरेक्षेत्र नै बढी प्रभावित देखिएको छ।

नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ।

तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन्। मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने अधिकारीहरूले बताएका छन्।

विज्ञहरूका अनुसार चट्याङको आवाजले कानका जाली फुट्ने र मानिसहरू घाइते हुने पनि गर्छन्।

बीबीसी नेपाली सेवाले यो समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया