धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

स्याङ्जा : पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ। आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

नारायणीको जलसतह खतराको तहभन्दा माथि

बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन्। अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ। अन्य चार जना अझै बेपत्ता छन्।

विभागले एसएमएस पठाएर बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नारायणीमा बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको थियो ।

पाल्पामा पहिरोले दुई वटा घर बगायो

पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्।

पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका हुन्। बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो।  उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली घटनास्थलतर्फ हिँडेको छ। थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया