व्यावसायिक संस्थालाई राजनीतिक स्वार्थबाट टाढा राख्न सभामुख अर्यालको आग्रह

काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक गतिविधि र स्वार्थबाट अलग राखेर सम्बन्धित क्षेत्रको विकासमा केन्द्रित हुन आग्रह गरेका छन्।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले पर्यटन व्यवसायको प्रवर्धन, क्षेत्रको विकास तथा व्यवसायीको हितमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताए।

पर्यटन क्षेत्रको विकासका लागि पर्यटकले हरेक चरणमा सुरक्षित महसुस गर्ने वातावरण आवश्यक रहेको उनको भनाइ थियो। हवाई सेवा, ट्याक्सी, होटललगायत पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा सुरक्षा र सेवाको गुणस्तर सुधार गर्न व्यवसायी, सरकार तथा सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए।

सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्कको आवश्यकता औँल्याउँदै अहिले उपलब्ध पूर्वाधारलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने धारणा राखे। निश्चित स्थानमा पर्यटक बसपार्कको व्यवस्था गर्न सके पर्यटन व्यवस्थापन थप सहज हुने उनको भनाइ थियो।

नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको पनि उनले बताए। निगमलाई सुधार गर्न वर्तमान संरचनामै सीमित भएर नहुने भन्दै उनले नयाँ ढंगबाट अघि बढ्नुपर्ने धारणा राखे।

नेपालसँग सहकार्य गर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले चासो देखाइरहेको उल्लेख गर्दै अर्यालले व्यक्तिगत फाइदाभन्दा राष्ट्रिय हित र पर्यटन क्षेत्रको दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट छिटो हटाउनुपर्ने विषयमा पनि उनले जोड दिए। यसका लागि सरकारसँगै पर्यटन व्यवसायी र सम्बन्धित क्षेत्रका सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

पर्यटन व्यवसायमा नेपाली र विदेशी पर्यटकबीच व्यवहारमा विभेद गर्न नहुने भन्दै उनले पर्यटकलाई समान र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने बताए।

सम्बोधनका क्रममा सभामुख अर्यालले पछिल्लो निर्वाचनबाट जनताले सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने बताए। मुलुकको समृद्धिका लागि सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया