कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो

काठमाडौंँ, भदौ ९ गते । गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चार महिनामा आर्थिक गतिविधि ठप्प रहँदा पनि वार्षिक आर्थिक अवस्थामा ठूूलो प्रतिकूल प्रभाव परेको देखिएको छैन ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सूचक अनुसार गत वर्षको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक देखिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागलाई उद्धृत गर्दै राष्ट्र बैङ्कले जनाए अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ । कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेको छ ।
त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७ प्रतिशत र ५८.०८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत पुगेको छ । कुल पुँजी निर्माण, कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादन सँगको अनुपात क्रमशः ५०.१५ प्रतिशत, २८.१४ प्रतिशत र ४६.०३ प्रतिशत रहेको छ । कुल जलविद्युत् उत्पादन ११.५० प्रतिशतले वृद्धि भई १३१८.२ मेगावाट पुगेको छ ।

 चालू खाता घाटा घट्यो
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷७७ मा चालू खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब छ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २६५ अर्ब ३६ करोड रुपियाँ थियो ।
त्यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ३५ करोड रहेको चालू खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटेर १४ अर्ब २१ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा दुई अर्ब ३५ करोडले बचतमा रहेको छ ।
रेमिट्यान्समा न्यून गिरावट
अघिल्लो वर्ष १६.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यो वर्ष भने ०.५ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा रेमिट्यान्स आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८७५ अर्ब तीन करोड रुपियाँ कायम भएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो ।

आन्तरिक कर्जा र निक्षेप बढ्यो
आर्थिक वर्ष २०७६÷७७ मा कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २१.१ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यस्तो दाबी १९.१ प्रतिशतले बढेको थियो ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८ प्रतिशतले बढेको थियो । २०७७ असारमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.७ प्रतिशत, ३२.८ प्रतिशत र ४६.३ प्रतिशत रहेको थियो । २०७७ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५.३ प्रतिशत रहेको थियो ।

कर्जा पनि बढ्यो
बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीको आठ प्रतिशतले बढेको छ भने विकास बैङ्कको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको छ । यस वर्ष मूल्यवृद्धि भने छ प्रतिशतको लक्ष्(यबाट केही बढेर ६.१५ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष मूल्यवृद्धि दर ४.६४ प्रतिशत मात्र थियो ।

हामीले गोरखापत्र अनलाईनबाट समाचार साभार गरेका हौं . भेषराज बेल्बासेले गोरखापत्र अनलाइनमा समाचार लेख्नु भएको हो ।

तपाईको प्रतिक्रिया