टी-२० विश्वकप: पाकिस्तानले पहिलो पटक हरायो भारतलाई

टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ।

मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाए।

पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन। यो नै पाकिस्तानको ऐतिहासिक जीत हो।

पाकिस्तानले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्न दिएको थियो। त्यसमा भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो।

शुरूवाती झट्कापछि भारतीय टोली सम्हालिएको थियो र त्यसमा कप्तान विराट कोहली र विकेटकीपर ऋषभ पन्तको भूमिका रह्यो। कोहलीले ५७ रन र पन्तले ३९ रन बनाए।

पाकिस्तानी टोलीका लागि १५२ रनको लक्ष्य भेट्टाउन पहिलो ओभर राम्रो रह्यो। भुवनेश्वर कुमारको पहिलो ओभरमा मोहम्मद रिजवानले १० रन बनाए।

दोस्रो ओभरमा भारतीय बलर मोहम्मद शमी आए। उनले ८ रन दिएसँगै पाकिस्तानी टोलीले बिना कुनै नोक्सान १८ रन बनायो।

यो जीत पाकिस्तानी प्रशंसकले देखेको सपनाभन्दा परको विषय थियो।

उनीहरूले टी-२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएनन् – जोडदार रूपमा पराजित गरे।

ऐतिहासिक जित

यो जित असाध्यै ठूलो थियो र यति महत्त्वपूर्ण थियो कि कप्तान बाबर आजमका बुवाका आँखामा आँसु देखिए।

यसअघि भारतले यी दुई देशबीचको प्रत्येक विश्वकप खेल जितेको थियो। पाकिस्तानको निम्ति दुबईमा, “२९ वर्षको पीडा” अन्त्य भयो।

“मैले जीवनमा सायदै यति खुसी महसुस गरेको थिएँ,” टेस्ट म्याचका विशेष टिप्पणीकार र पाकिस्तानका प्रशंसक आतिफ नवाजले भने, “मैले यो भन्दा रमाइलो मानेको कुनै एउटामात्रै अर्को क्षण पनि सोच्न सक्दिनँ।”

उनका भनाइमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीसँग विश्वकपमा हार्दा पीडा हुन्छ। र, त्यो पीडा सन् १९९२ यता १२ पटकसम्म भयो।

नवाजले बीबीसी स्पोर्टसँग भने, “यो जितले पूरै देशमा खुसी ल्याएको छ, यस्तो कठिन समयमा यसले सबैको मुहारमा मुस्कान ल्याएको छ।

पाकिस्तानमा प्रशंसकहरूले रेस्टुरेन्ट, किनमेल केन्द्र र सिनेमाहरूमा हेरेका थिए। जब जितको क्षण आयो उनीहरू खुशीयाली मनाउन सडकमा निस्किए।

विगतमा आफैँ क्रिकेटका चर्चित खेलाडी रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिँदै ट्वीट गरेका छन्। BBC

तपाईको प्रतिक्रिया