राम्रो काम बालेनले मात्रै होइन, रविले पनि गर्न पाउनु पर्छ

राइज पोखरेल

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह गृहमन्त्री रवि लामिछाने तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति अस्वाभाविक लाग्नेगरी नकारात्मक रुपमा प्रस्तुत हुन्छन् । बालेन र रवि राजनीतिमा अलग अलग स्थानबाट उदाएका नयाँ पात्र हुन् र उनीहरुप्रति जनताले आशाका नजरले हेरेका छन् । नयाँ उदाएका यी पात्रहरुले राम्रो काम गरुन्, ठीक छ । यसअघिका जनप्रतिनिधिको भन्दा बेग्लै कार्यशैली अपनाउन्, त्यो पनि ठीक छ । तर एउटाले राम्रो काम गर्नै नहुने, गर्न सुरु नगर्दै अर्काेले बिरोध र निन्दामा लेखिहाल्नु पर्ने, यो चाहिँ सोह्रैआना बेठीक छ ।

काम बालेनले गरुन्– त्यसको परीक्षण हामी नागरिकले गर्छाैं । काम रविले गरुन्– त्यसको पनि परीक्षण हामी नागरिकले नै गर्छाैं । तर, कृपया बालेनले यो नगरुन्– सबैको परीक्षण पनि मै गर्छु ।


दुबै पटक रवि गृहमन्त्री नियुक्त हुँदा बालेन बेखुश थिए भन्ने कुरा उनका घोचपेचपूर्ण सार्वजनिक अभिव्यक्तिले जनाउ दिएका छन् । पछिल्लो पटक रवि गृहमन्त्री भएपछि बालेनले आफ्नो फेसबुक पेजमा रविलाई खुइल्याउनेगरी लेखे–
‘नयाँ मन्त्रीज्यूहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्कनु पर्ने छ रे !..’

बालेनप्रति आशा भए पनि उनको यो असामयिक व्यङ्ग्यप्रति भने सर्वसाधारण नागरिकमा निराशा देखिन्छ । जसरी राम्रो काम बालेनले गर्न पाउँछन्, त्यसैगरी राम्रो काम रवि वा अरुले पनि गर्न पाउँछन् । काम सुरु नगर्दै चिढिनु, अनि निन्दा र बदख्वाइँमा उत्रेर व्यङ्ग्यबाण चलाउनुले बालेनमा काम भन्दा बेग्लै उद्देश्य पो छ कि भन्ने शंका लाग्छ ।


मेयर बालेन धेरैको आशा र भरोसाका किरण हुन्, उनले राम्रो काम गरुन्– जनताले चाहेको कुरा यही हो । तर, अर्काे कुनै पात्रले राम्रो काम गर्न खोज्दा त्यसबाट मर्माहत हुने बालेन– जनताले चाहेका होइनन् । अरुले गरेको राम्रो कामले बालेनलाई दुख्नु पर्ने किन ? कि उनी बाहिर देखाइको भन्दा बेग्लै उद्देश्यमा छन् ?


बालेन काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार हुँदा रविले समर्थन गरेका थिए । तर, बालेन भने रविहरुको उदयलाई आफ्नै निजी तपस्याको फल ठान्छन् । उनका बेलाबेलाका घोचपेच र व्यङ्ग्यले यो देखाउँदै आएको छ ।
समर्थन वा विरोध कामका आधारमा हुने परिपाटी नेपालमा बसिसकेको छैन । हाम्रो समाजमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पहिले कुनै कुराको पक्ष वा विपक्षमा लाग्छन् र अनि बल्ल त्यसको गुणदोष खोज्न थाल्छन् । अनि उनीहरुलाई पक्ष वा विपक्षको मतलव हुन्छ, गुण वा दोषको मतलव हुँदैन । कसले के राम्रो गर्यो वा गरेन भन्ने होइन, मैले समर्थन गरेको हो वा होइन भन्ने आधारमा सामाजिक मत निर्माण हुन थाल्छ । बालेनले अहिले यो बुझ्न छोडेका छन्– आफ्नो गुणै गुणका कारणले आफू मन पराइएको हुँ भन्ने ठान्छन् । यथार्थमा गुणदोष नहेरी उनको पछाडि लाग्ने मानिसका कारण उनी शक्तिसाली भएका हुन् । आफ्नो गुण वा पक्षधरता कुन कारणले मेरो शक्ति विस्तार भएको छ भन्ने जानकारी नराख्ने भएकै कारण राम्रो मान्छेको आवरण भित्र नराम्रो चरित्र हुर्कंदै जाने गर्छ । मेयर बालेनलाई हामी नागरिकहरुले गरेको समर्थनको बलमा अर्कै तत्व हुर्कंदै गएको पो हो कि भन्ने पछिल्लो पटक उनका व्यवहारबाट देखिन थालेको छ ।


काम बालेनले गरुन्– त्यसको परीक्षण हामी नागरिकले गर्छाैं । काम रविले गरुन्– त्यसको पनि परीक्षण हामी नागरिकले नै गर्छाैं । तर, कृपया बालेनले यो नगरुन्– सबैको परीक्षण पनि मै गर्छु ।

तपाईको प्रतिक्रिया