हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति

ऐतिहासिक र पुरातात्विक महत्वको प्राचिन शहर भक्तपुर । अहिले नेपाल मजदूर किसान पार्टीका नेता सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । यो नगरपालिकामा नेमकिपाको सबैभन्दा बढी प्रभाव छ । संघीय संसदमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित हुनु भएको छ । देशका अरु ठाउँमा नेमकिपाको प्रभाव सून्य जस्तै छ । तर भक्तपुर नगरपालिका क्षेत्र भन्नासाथ नेमकिपालाई छुटाएर कुनै पनि विषयको वहस अघि बढ्न सक्तैन ।


भक्तपुर नगरपालिकाले नगरवासीको हितका लागि गरिरहेका कामहरुलाई हेर्ने हो भने यहाँ जनताको दैनिक जीवनसँग जोडिएका विषयमा पर्याप्त ध्यान दिएको पाइन्छ । ३० जना विज्ञ चिकित्सकहरु रहेको अस्पताल संचालनदेखि प्रत्येक दिन घर घरमा नर्स पठाएर जनताको स्वास्थ्य परीक्षण गर्ने जस्ता जनहितका काम नगरपालिकाले गरिरहेको छ । अनि, आफ्नै नेतृत्वमा शिक्षण संस्था संचालनको दायित्व समेत नगरपालिकाले उठाएको छ ।
भक्तपुर क्षेत्रफलका हिसाबले देशकै सानो नगरपालिका हो । यहाँ प्राचिन समयदेखि तत्कालिन अवस्थामा इतिहास झल्कने संरचना छन् । अर्थात बाटो साँघुरो छ । ठाउँ ठाउँमा केही चोक र पोखरीहरु छन् । अनि हाम्रा पूर्वजहरुले कठिन मेहनतबाट खडा गरेका न्यातपोल देवल र पचपन्न झ्याले दरबार जस्ता संरचनाहरुले भक्तपुरको विशिष्ट परिचय स्थापित गरेका छन् ।
आज हामीले भक्तपुरको सौन्दर्य होइन, त्यहाँ विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा कस्ता कामहरु भइरहेका छन् र अबका योजना के छन् भन्नेबारे चर्चा गर्दैछौ । हालै ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ द टाउनका लागि जगदीश खरेलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनको विषयमा केन्द्रीत रहेर कुराकानी गर्नुभएको छ ।


नगरपालिकाका प्रमुख प्रजापतिका अनुसार भक्तपुर नगरपालिकामा सबै काम उपभोक्ता समिति मार्फत हुने गरेको छ । “भूकम्पपछिको पुनर्निमाणदेखि पोखरी र खुला क्षेत्रको संरक्षणमा समेत उपभोक्ता समितिहरु सक्रिय छन्, हामी ठेकेदारमा होइन, उपभोक्ता समितिमा विश्वास गर्छौ ” नगर प्रमुख प्रजापतिले भन्नु भयो । त्यसो त भक्तपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानून समेत बनाइसकेको छ । अनि आफ्नो नगरमा कुन कुन क्षेत्र जोखिममा छन् भन्ने पहिचान गरी विपद्बाट जनतालाई सुरक्षित राख्न विभिन्न कार्यक्रम संचालन गरिएको छ । करिव दुई सय जनाको स्वयंसेवक टोली समेत नगरपालिकाले तयार गरेको छ । यि स्वयं सेवकहरुले जनतालाई विपद्बाट बच्ने उपाय सिकाउनुका साथै, विपद् आइहालेको स्थितिमा तत्काल उद्दार र राहतका लागि भूमिका खेल्ने गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
अर्कोतिर नक्सा पासमा कडाई गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो, “नक्सा पासको प्रक्रियामा सहजतासँगै कडाई पनि गरेका छौ, कतिपय ठाउँमा मापदण्ड विपरितका घर पर्खाल भत्काएका छौ ”नगर प्रमुख प्रजापतिले भन्नुभयो । मापदण्ड विपरितका संरचना बनाउने र त्यसलाई भत्काउन दिएको आदेश कार्यान्वयन नगर्नेहरु विरुद्ध नगरपालिका आफैले मुद्दा समेत चलाएको छ । भूकम्पपछिको पुनर्निमाणमा पनि स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग गरिएको छ । स्थानीय डकर्मी, सिकर्मीको प्रयोग र उपभोक्ता समितिमार्फत काम हुँदा भक्तपुरमा पुनर्निमाण अन्तिम चरणतिर पुगेको छ ।
नगरपालिकाले अघि सार्ने योजनामा जनताको उल्लेख्य साथ र सहयोग प्राप्त छ । अर्कोतिर नेपाली सेना र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल जस्ता निकायहरुसँगको समन्वयमा विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि समय समयमा तालिम संचालन गर्ने गरिएको नगर प्रमुख प्रजापतिले वताउनुभयो, “नगरपालिकाका भनेको जनताको सेवाका लागि, उनीहरुको हितका लागि स्थापित संस्था हुन्, यहीँ मान्यतालाई आत्मसात् गरेर हामीले काम गरिरहेका छौ ” नगर प्रमुख प्रजापतिले भन्नु भयो । आशा गरौं ऐतिहासिक र पुरातात्विक महत्वको भक्तपुर नगरपालिकाले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा पनि ऐतिहासिक कामहरु गर्नेछ ।

(जगदीश खरेलले इमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा गर्नुभएको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया