नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्

नेपालमा करिब ३० लाख व्यक्ति कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् । कोभिड–१९ का कारण नेपालमा लकडाउनको पहिलो महिना ४८७ जनाले आत्महत्या गरेका थिए, जुन त्यसअघिको महिनाको तुलनामा २० प्रतिशतले बढी हो । लकडाउनको ७४ दिनको यो अवधिसम्म करिब १,२२७ जनाले आत्महत्या गरिसकेका छन् । अर्थात्, प्रतिदिन औसत १६.५ जनाले आत्महत्या गरिरहेका छन् । आत्महत्याको दर नेपालसहित विश्वभर अझ बढ्ने क्रममा छ । आत्महत्याका घटनामा वृद्धि मानसिक स्वास्थ्य समस्याकै कारणले हो ।

यति ठूलो स्वास्थ्य समस्यामा पनि सरकारले खासै वास्ता गरेको छैन । स्वास्थ्य मन्त्रालयअन्तर्गत अहिले मानसिक स्वास्थ्यसम्बन्धी एउटा शाखा मात्र छ । यो शाखा स्थापना गर्नका लागि जस्तो मात्र भएको छ । यसको प्रभावकारिता उल्लेख्य मात्रामा हुन सकेको छैन । सरकारले स्वास्थ्यसम्बन्धी रणनीति अबको केही महिनामा पारित गर्दैछ । यसले महाशाखाको परिकल्पना गरेको छ । तर, यसको निम्ति चाहिने साधन स्रोतको न्यूनता उत्तिकै छ । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरेलले आगामी फागुनभित्र महाशाखा बनाउने बताउनु भएको छ । डा. पोखरेलले भन्नु भयो, हामी आगामी फागुनभित्र महाशाखा बनाउँछौं र विशेषज्ञ थपको लागि हामी प्रतिबद्ध छौं । त्यस्तै मानसिक स्वास्थ्यसम्बन्धी शाखा प्रमुख डा. फणिन्द्र बरालले पनि यसको आवश्यकता रहेको बताउनु भएको छ । अहिलेको शाखाले कुनै पनि हालतमा मानसिक स्वास्थ्य समस्यालाई प्रभावकारी रुपमा संवोधन गर्न सक्दैन उहाँले भन्नु भयो, अहिलेको अवस्थमा यो अपर्याप्त छ । अहिले ४० भन्दा बढी जिल्लामा हामीले तालिम तथा सामाजिक अभियान चलाएका छौं । अबको केही वर्षमा हामी ७७ वटै जिल्लामा यसको अभियान लिएर जान्छौं । र, मानसिक स्वास्थ्यको लागि प्रदेश स्तरमा पनि अस्पतालको विकासको लागि हामी प्रतिबद्ध छौं । डा. बरालले भन्नुभयो, प्रधानमन्त्रीले पनि निर्देश गर्नुभएको छ । हामी यसलाई छिट्टै कार्यान्वयनमा लिएर जान्छौं ।

तपाईको प्रतिक्रिया