राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमा अहिले ९० प्रतिशतभन्दा बढी भवनका संरचना जोखिममा रहेको बताउनु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो, अहिले नेपालमा जम्मा ५ प्रतिशत भवनहरु मात्रै सुरक्षित छन् । कुनै न कुनै रुपमा ९० प्रतिशतभन्दा बढी संरचना जोखिममा रहेका छन् । उहाँले २०७२ सालकै जस्तै भूकम्प फेरि पनि विद्यालय चलेको बेलामा आउने हो भने ४० हजारभन्दा बढी बालबालिकाको मृत्यु हुनसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, हामीले मृत्युको भयावह अवस्थाको सामना गर्नु पर्ने हुन्छ । त्यसका लागि अहिले प्रदेश तथा स्थानीय सरकारसँग मिलेर गोदाम घर बनाउने र आवश्यक सामग्री राख्ने कामलाई तीव्रता दिएका छौं, पोखरेलले भन्नु भयो । उहाँले भन्नु भयो, अब भूकम्प नेपालको कास्कीदेखि पश्चिम क्षेत्रमा आउन सक्छ, वैज्ञानिकहरुले ५ सय वर्षभन्दा यता पश्चिम क्षेत्रमा ठूला भूकम्प गएका छैन्, त्यसकारण पश्चिम नेपाल बढी जोखिममा छ । अहिले प्राधिकरणले विपद् जोखिमको लेखाजोखा तयार गरेको छ । प्राधिकरणले १ सय ४७ स्थानीय तहको विपद्को लेखाजोखा गरेको छ । उहाँले बाढीको पूर्व सूचना प्रणाली अहिले एकदमै प्रभावकारी भएको बताउँदै अब भूकम्पको पनि पूर्व सूचना प्रणाली २ वर्षसम्म आइपुग्ने बताउनु भयो । भूकम्प लगायतका विपद्को पूर्वतयारी गर्न हामी कहाँ बजेटको अभाव छ । त्यसकारण सकेजति काम गर्न सकेका छैनौं । अब विदेशी दातृ निकायहरुसँग मिलेर विपद्को सामना गर्न सक्ने समुदाय बनाउनुको विकल्प छैन । उहाँले भन्नु भयो, अहिले युएनडीपी जस्ता कतिपय संस्थाले समुदायमा आधारित विपद् व्यवस्थापनका कामहरु अगाडि बढाएका छन् । त्यो एकदमै सकारात्मक छ तर पर्याप्त छैन । यसलाई अझै व्यापक रुपमा अगाडि बढाउनु पर्छ । प्राधिकरण अहिले गृहको छत्रछायाँमा रहेको बताउँदै अब यसलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुको विकल्प नभएको पोखरेलले बताउनु भयो ।
(उहाँसँग भएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्)

तपाईको प्रतिक्रिया