वीरेन्द्रनगरमा दिसाबाट बन्छ तातो केक…

सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका परिसर प्रवेश गर्ने वित्तिकै एउटा बोर्ड देख्न सक्नुहुन्छ । जसमा लेखिएको छ ‘बीरेन्द्रनगर शहरलाई सफा र स्वच्छ बनाउन म प्रतिबद्ध छु र तपाईको साथको अपेक्षा गर्दछु’ – नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)

बीरेन्द्रनगर नगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउनका लागि कत्ति प्राथमिकता दिएको छ भन्ने कुरा यो बोर्डबाट पनि आंकलन गर्न सकिन्छ । नगर प्रमुख भण्डारी भन्नुहुन्छ ‘हामी नेतृत्व तहमा छौं, हामी यो काम गर्न प्रतिबद्ध छौं । तर हामीलाई सबै नगरबासीको साथ चाहिन्छ । तपाई जो जहाँ हुनुहुन्छ आफ्नो ठाउँबाट साथ दिनुहोस्, भनेर आव्हान गरेका हौं ।’

टेलिभिजन कार्यक्रम टक अफ द टाउनको छायाँकनका लागि बीरेन्द्रनगर नगरपालिकामै पुग्नु भएका पत्रकार जगदिश खरेलसँग उहाँले फोहोरमैलाको एकीकृत व्यवस्थापनको कामलाई विकासको प्रमुख एजेण्डाको रुपमा स्वीकार गरिएको बताउनुभयो । ‘शहर सफा भएन भने अरु विकासको कामले त्यत्ति पूर्णता पाउँदैन भन्ने कुरामा प्रतिबद्ध रहेर यसलाई प्रमुख एजेण्डा बनाएर काम गरिरहेका छौं’ उहाँले भन्नुभयो ।

सरसफाइको एजेण्डा नगर प्रमुख भण्डारीको बोर्डमा मात्र होइन, व्यवहारमा पनि उस्तै छ । नगरपालिकाले वन मन्त्रालयबाट ५ विगाहा जग्गा भोग चलनका लागि अनुमति लिई एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्दै आएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्र भित्र एकातिर दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिएको छ । उक्त प्रशोधन केन्द्रमा नगरक्षेत्र भित्रका बासिन्दाको सेप्टिक ट्याङ्कबाट दिसाजन्य लेदो उठाएर लगिन्छ ।

यसरी घरघरसम्म पुगेर सेप्टिक ट्याङ्क खाली गर्ने नगरपालिकाको आफ्नै टिम र निजी क्षेत्रका व्यवसायीहरु छन् । उनीहरुबाटै सेप्टिक ट्याङ्कीबाट फोहोर उठाएर ट्रिट्मेन्ट प्लान्टमा पुर्‍याउने र प्रशोधन गर्ने काम भईरहेका छन् । प्रशोधन गरेपछि मल र प्रशोधित पानी निस्किन्छ । जसलाई विसर्जन गर्दा वातावरणलाई कुनै हानी नोक्सानी हुँदैन ।

नगरपालिकाले ल्याण्डफिल साईटलाई व्यवस्थित बनाउन र दिसाजन्य लेदो प्रशोधन केन्द्रको क्षमता बढाउन राष्ट्रिय योजना आयोग समक्ष विशेष अनुदानको समेत माग गरेको छ । यसले पनि बीरेन्द्रनगर नगरपालिका मानव मलमूत्रको सुरक्षित व्यवस्थापनका लागि कतिसम्म प्रतिबद्ध छ भन्ने कुराको आँकलन गर्न सकिन्छ ।

राष्ट्यि जनगणना २०७८ को प्रतिवेदन अनुसार सुर्खेत जिल्ला भरिमा ९७.७८ प्रतिशत घरमा चर्पीको उपलब्धता छ । कुल ९७ हजार ८ सय २२ घरमध्ये २ हजार १७३ घरमा अझै शौचालय बन्न बाँकी छ ।

यसरी गरिन्छ दिसाजन्य लेदो प्रशोधन

शौचालयको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदोलाई ट्याङ्करको सहायतबाट खाली गरिन्छ । त्यसपछि सुरक्षित तरिकाले ढुवानी गरी दिसाजन्य लेदो प्रशोधन केन्द्रमा पुर्‍याईन्छ । बीरेन्द्रनगर नगरपालिकाले मुख्य बजारक्षेत्रबाट करिब ८ किलोमिटर दुरीमा रहेको तारेभीरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिएको छ ।

प्रशोधन केन्द्रमा पुर्‍याएपछि सुरुमा होल्डिङ ट्याङ्कमा खसालिन्छ । त्यसपछि अर्को च्याम्बरमा जान्छ । त्यहाँ लेदोसँगै भएका प्लाष्टिक तथा फोहोरहरु छान्ने काम हुन्छ । बग्दै गएको लेदो अर्को ट्याङ्कीमा जम्मा हुन्छ । त्यहाँ चार वटा भल्वहरु छन् । तिनको काम ट्याङ्कीमा भएको लेदोलाई स्लज ड्रईङ बेडसम्म पुर्‍ याउनु हो । यसको हेरचाह गर्ने कर्मचारीले जहाँ खाली त्यहीको भल्व खोलिन्छ । भल्व खोले पछि दिसाजन्य लेदो गएर सबैतिर फैलिन्छ । त्यहाँ बेसारे फूल लगाएको छ ।

प्रशोधन केन्द्रका फोकल पर्सन मायाराम शर्माका अनुसार बेसारे फूलमा आएको दिसाजन्य लेदो मध्ये ठोस जत्ति त्यही जम्मा हुन्छ र पानी जत्ति भित्रभित्रै प्रशोधन प्रणालीमा जान्छ । यसका लागि एक मिटर ४० सेन्टिमिटर गहिराईमा प्वाल पारिएको पाइपहरु र एचडिपीई (हाई डेन्सिटी पोलिईथाइलिन) मेम्रेन र जिईओ टेक्सटायल विछ्याईएको छ । यसको ७० सेमी गहिराईसम्म ४० एमएमको गिट्टी विछ्याएको छ । त्यसपछि २५ एमएमको र त्यस भन्दा माथि १० एम.एम.को गिट्टी सतह मिलाएर विछ्याएको छ र अन्त्यमा बिछ्याएको बालुवा माथि बेसारे फूल रोपिएको छ ।

ठोस पदार्थ घामले सुक्न थाल्छ भने बेसारे फूलले त्यसमा भएका गन्धहरुलाई सोस्ने र प्रशोधन प्रक्रियामा पनि केही सघाउ पुर्‍याउँछ । प्रशोधन केन्द्रका फोकल पर्सन मायाराम शर्मा सुकेको ठोसवस्तुलाई केकको संज्ञा दिनुहुन्छ । यो बोटविरुवाका लागि अति नै पोषक तत्व मानिन्छ । कसै कसैले यसलाई खैरो सुन पनि भन्ने गरिन्छ ।

दिसाजन्य लेदोमा भएका तरल पदार्थ छानिएर भित्रभित्रै विछ्याएका पाइप मार्फत अर्को इनारमा जम्मा हुन्छ । त्यहाँसम्म पुग्दा केही प्रतिशत प्रशोधन भईसक्छ । त्यसपछि पोलिसिङ तलाउमा पुग्छ । त्यहाँ आएको पानी सुरुमा खस्छ, विस्तारै भरिन्छ र फेरि अर्कोमा झर्ने क्रम सुरु हुन्छ । त्यस क्रममा केही कणहरु थिग्रिने र बाँकी पानी भर्दै विस्तारै झर्दै जान्छ । यो क्रम सकिएपछि अन्त्यमा १० मिटर लम्बाई १ मिटर चौडाईको ट्याङ्कीमा जान्छ । त्यहाँ पनि ठूलो देखि सानो गिट्टी र बालुवा भरिएको छ । त्यसपछि फिल्टर भएको पानी अन्त्यमा विसर्जन गरिन्छ । उक्त पानी चराचुरुङ्गी बाँच्ने खालको हुने फोकल पर्सन शर्माले बताउनुभयो ।

खोला खोल्सीमा बिसर्जन देखि प्रशोधन केन्द्रसम्मको यात्रा

वीरेन्द्रनगर नगरपालिकाको योजना तथा वातावरण शाखाका प्रमुख हुनुहुन्छ प्रकाश पौडेल । उहाँलाई पत्रकार खरेलले सोध्नुभयो ‘यो अवधारणा कसरी आयो ? पौडेलले बीरेन्द्रनगरको बढ्दो शहरीकरण सँगसँगै ठोस फोहोरमैला र दिसाजन्य लेदो दुवै तनावको भएको बिषय स्मरण गर्नुभयो ।

विगतमा कहिले रोडको साईटमा कहिले खोलाखोल्सीमा फोहोर फाल्दा विरोध आएको र सक्सन ट्याङ्करले दिसाजन्य लेदो उठाए पनि फाल्ने ठाउँको अभावमा कहिले खेत तथा खोलामा र कहिले वनजंगलमा फाल्दै आएको बताउनुभयो ।

प्रशोधन प्लाण्टलाई रोज गार्डेनको रुपमा विकास गर्ने मेयरको योजना

दिसाजन्य लेदो प्रशोधन प्लाण्ट अहिले पनि आकर्षक छ । प्रशोधन प्लान्टमा लगाएको बेसारे फूलले जो कोहीको मन नलोभ्याउने कुरै हुँदैन । प्लाण्टमा पुग्नेहरु अहिले पनि फोटो खिच्ने, टिकटक बनाउने गर्छन् ।

यसको थप सौन्दर्य बढाउने योजना छ नगरपालिकाको । प्लाण्टको वरिपरि गुलावका फूलहरु रोपेर रोज गार्डेन (गुलावको बगैंचा) बनाउने नगरपालिकाको योजना रहेको मेयर मोहन माया ढकाल (भण्डारी) ले सुनाउनुभयो । यसबाट आन्तरिक पर्यटकलाई आकर्षित गराई दिसाजन्य लेदो प्रशोधन सम्बन्धी सन्देश वस्ती वस्तीमा पुर्‍याउन सकिन्छ भन्ने उहाँको विश्वास छ ।

दिसाजन्य लेदोबाट ६ लाख रुपैयाँ राजश्व

जत्तिबेला सुर्खेतमा दिसाजन्य लेदो प्रशोधन केन्द्र थिएन, त्यत्तिबेला बर्षातमा पानी परेको बेला नालामा बगाईदिने, सेप्टिक ट्याङ्क खोलिदिने चलन पनि थियो । जसले गर्दा जनस्वास्थ्य उच्च जोखिममा थियो ।

दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न थालेपछि गत आर्थिक बर्षमा ६ लाख रुपैयाँ राजश्व संकलन भएको मेयर भण्डारीले बताउनुभयो । नगरबासीले सेप्टिक ट्याङ्क खाली गराए बापत तिर्ने रकम नगरपालिकाको राजश्वमा जम्मा हुन्छ ।

नगरपालिकाले सेप्टिक ट्याङ्क सफा गर्दा ८ हजार रुपैयाँ लिदै आएको छ ।

तपाईको प्रतिक्रिया