चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?

‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ले अबको केहि दिनमै नयाँ नेतृत्व पाउँदैछ । आगामी मसिंर ६, ७  र ८ गते पोखरामा हुने  प्रतिष्ठानको सातौं महाधिबेशनले नयाँ नेतृत्व छान्नेछ । अहिले महाधिबेशनको अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ । पोखरामा हुने चुनावले त्यहाँ मात्रै होइन, काठमाडौँ र जिल्ला–जिल्लामा समेत तताएको छ । धेरै कलाकारको निद्रा हराएको छ ।

प्रतिष्ठानको नयाँ नेतृत्वका विभिन्न पदमा सर्वाधिक चर्चामा रहेका कलाकारको नाम देखि खासै चर्चामा नरहेका नाम सुनिएका छन् । अहिले प्रतिस्पर्धीहरु आफुलाई जिताउन विभिन्न फण्डा रचेका छन् । निकट व्यक्तिहरु आफ्ना नजिकका प्रतिस्पर्धीलाई जिताउन भित्र–भित्रै सक्रिय रुपमा लागेका छन् । बिहानदेखि साँझसम्म फोन र सामाजिक सन्जालहरुमा उनीहरुको सक्रियता राम्रै बढेको देखिएको छ ।

नेतृत्वमा आ–आफ्नै दाबी

सातौं अध्यक्ष पदमा लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीको भिडन्त हुने पक्का छ । अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका रमेश बिजी हालका उपाध्यक्ष हुन् । अर्का प्रतिस्पर्धी खत्री अध्यक्ष पदमा यसअघि दुई पटक हार व्योहोरिसकेका छन् । जानकारीमा आएसम्म खत्री र बिजी अध्यक्ष पदमा लड्ने फाइनल भएको छ । प्रतिष्ठानका एक सदस्यले भने, ‘सहमती हुने सम्भावना देखिएको छैन । सोहि कारण प्रतिस्पर्धाबाटै नेतृत्व आउने देखिएको छ ।’ अध्यक्ष बद्री पंगेनीले सहमतीमै अध्यक्ष छान्ने गृहकार्य भैरहेको जानकारी दिए । उनले भने, ‘सकेसम्म सहमतीमै गराउने प्रयास भैरहेको छ । भएन भने चुनाव गरेर भएपनि नयाँ नेतृत्व छान्नेछौं ।’ अरु पदमा समेत विभिन्न व्यक्तिको चर्चा चलेको छ ।

कुन पदमा को–को व्यक्तिले उमेदवारी दिए भन्ने विषयको आधिकारिक जानकारी त शनिवार मात्रै आउनेछ । तर, उमेदवारी दिने व्यक्तीको नाम लगभग पक्का भैसकेको एक सदस्यले जनाए । चर्चा चलेअनुसार र भोट माग्न हिडेका कलाकारको गतिविधी अनुसार बरिष्ठ उपाध्यक्षमा चर्चित गायक पशुपति शर्मा र रीता शर्मा उठ्ने हल्ला छ । प्रथम उपाध्यक्षमा रामजी खाँड र पार्वती बीसी, द्धितिय उपाध्यक्षमा दीपक खड्का उठ्ने देखिएको छ । महिला उपाध्यक्षमा राधिका हमालको नाम मात्रै चर्चामा आएको छ । त्यस्तै सुवास केसी र शिरिष देवकोटा महासचिव पदका लागी प्रतिस्पर्धा गर्ने बुझिएको छ । यस्तै, उप–महासचिवमा शंकर विसी, चोलेन्द्र पौडेल, शिव हमाल, बैकुण्ठ महत, सचिवमा कुलेन्द्र विश्वकर्मा, विनोद बाजुराली, पुस्कल शर्मा, कृष्ण रेउले, जीवन दाहाल, प्रचण्ड जीसी, हुम गैरे, नविन पौडेलको नाम सुनिएको छ । यस्तै, सांगठनिक सचिवमा भने खुमन अधिकारी एक्ला प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । उनको पदमा अन्य व्यक्तीको नाम सुनिएको छैन । त्यस्तै, कोषाध्यक्षमा राजु ढकाल, तारापती सुवेदी र पुरुषोत्तम न्यौपाने, सह–कोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल र घनश्याम रिजालको नाम चर्चामा छ ।

मेरो उमेदवारी स्वभाविक हो : बिजी

प्रतिष्ठानको स्थापना कालदेखि काम गर्ने अवसर पाएँ । अहिले बरिष्ठ उपाध्यक्षको स्थान सम्म आइपुग्दा धेरै नेतृत्वलाई साथ र सहयोग गरेँ । लगभग १८ बर्ष निरन्तर काम गरेर प्रतिस्ठानलाई यहाँ सम्म ल्याउन मैले गरेको कामको मुल्यांकन हुनुपर्छ । संस्थाको हितका लागी मैले गरेको त्याग र तपस्यालाई पनि साथिभाईहरुले बुझ्नुहुनेछ । अघिल्ला अध्यक्षहरुले आ–आफ्नो किसिमले काम गर्नुभयो । कतिपयले धेरै राम्रो गर्नुभयो, कतिपयले सक्नुभएन त्यो स्वभाविकै हो । अब मेरो कार्यकालमा उहाँहरुले सुरु गर्नुभएका तर पुरा नभएका कामहरुलाई सम्पन्न गर्नुका साथै नयाँ विभिन्न योजना बनाएर काम गर्नेछु । हरेक कलाकारहरु कलाकारिता क्षेत्रमा लागेर भविष्य राम्रो हुन्छ भन्ने महशुस गराउनेछु, जुन मेरो ठुलो संकल्प हो । साथै, प्रतिष्ठानको आफ्नै भवनमा नयाँ प्रतिभावालाई नियमित रुपमा प्रशिक्षण दिएर गायन क्षेत्रमा ल्याउने अर्को काम पनि गर्नेछु ।

जिम्मेवारी पाए काम गरेर देखाउँछु : खत्री

जिन्दगीभर कलाकारिता क्षेत्रमा लागियो । यो बाहेक खासै केहि गरिएन । यो संस्थामा म सुरुवातदेखि लागेको छु । तिन कार्यकाल सदस्य, एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव भैसकेको छु । लामो समय आफ्नो तर्फबाट महत्वपुर्ण काम सम्पन्न गरिसकेको छु । कुनै होटलमा भाँडा माझ्न व्यक्ती होटलको मालिक बन्ने सपना हुन सक्छ । संस्थागत रुपमा लागेपछि त्यसको नेतृत्व आफ्नो हातमा लिएर संस्थालाई धेरै माथी पुराऔं भन्ने हुँदोरहेछ । म लगभग दुई दशक यो क्षेत्रमा क्रियाशिल छु । संस्थाका हरेक गतिविधीमा सक्रिय रुपमा लागेको छु । हाम्रो क्षेत्रमा लागेका कलाकारको भविष्यको लागी, विकृती बिरुद्ध र सरकारसँग लोक दोहोरी विकास वोर्डको माग लगायतका विभिन्न योजनाका साथ म अध्यक्षको भुमिकामा काम गर्ने सोच राखेको छु । यो क्षेत्रमा नयाँ प्रतिभावालाई कसैले सहयोग गर्दैनन्, मैले मेरो कार्यकालमा उनीहरुका लागी छुट्टै योजना गराएर केहि गर्ने योजना छ । केन्द्रमा मात्रै होइन, विभिन्न जिल्लामा प्रतिष्ठानको आफ्नै भवन खोल्ने योजना छ । लोपोन्मुख संस्कृतीको उजागर गर्नुका साथै पहिलेदेखि यो क्षेत्रमा क्रियाशिल, गुमनाम कलाकारहरुलाई फेरी अगाडी ल्याएर केहि गर्ने योजना बनाएको छु । प्रतिष्ठानको समन्वय दुर्गम जिल्लामा खासै छैन, मैले त्यसलाई पुरै परिवर्तन गर्नेछु ।

अध्यक्षमा एउटै पार्टिका दुईजना ?

राजनैतिक दलको चुनावमा लोक तथा दोहोरी गायकहरु राम्रैसँग प्रयोगमा ल्याइए । सयौं व्यक्ती रहेको प्रतिष्ठित संस्था भएकाले समेत राजनैतिक दलको आँखा यो संस्थामा हुनु स्वभाविकै हो । त्यसो त संस्थामा राजनिती छिर्नु हुन्न भन्ने माग धेरैको छ । हुँदाहुँदैपनि पार्टि छिरिहाल्छ । अहिले यसका पछि नजाऔं । अचम्मको कुरा त के छ भने, अध्यक्ष पदमा अहिले उमेदवारी दिन लागेका खत्री र बिजी एउटै पार्टि निकट मानिन्छन् । एक बलियो स्रोत भन्छ, ‘कांगे्रेसका कोहि कलाकार उठेको पाइएको छैन । अरु पार्टिका पनि खासै देखिनुभएको छैन । अहिले उठ्ने योजना गराएका दुई अध्यक्षका प्रत्याशी नेकपा निकट मानिन्छन् ।’ कम्युनिष्ठ धारका उनीहरु मिलेर अगाडी बढ्न धेरैले सुझाव दिएपनि सहमती हुने सम्भावना देखिएको छैन । सोहि कारण चुनावबाटै नयाँ नेतृत्व छान्ने लगभग पक्का छ ।

पंगेनीको कार्यकाल कस्तो रह्यो ?

प्रतिष्ठानको छैटौ महाधिवेशनबाट चर्चित गायक बद्री पंगेनी अध्यक्ष पदमा विजयी भएका थिए । विजयी भएसँगै कार्यकालभर अघिल्ला अध्यक्षको तुलनामा केहि राम्रा काम गरेसँगै उनको अध्यक्ष कार्यालय सम्झन लायक भयो । हालै १ करोड भन्दा माथीको प्रतिष्ठानको आफ्नै भवन निर्माण गरेपछि उनको चर्चा थप चुलिएको हो । मिलनसार स्वभावका कारण पंगेनीले आफ्नो कार्यकाल विवादरहित बनाउन सफल भए । आफ्नो कार्यकालमै जग्गा किनेर भवन बनाए ।  त्यस्तै, कलाकार कल्याणकारी कोषमा रहेको नाजुक स्थितीलाई एक करोड पुराए । संस्थालाई व्यवस्थित गराउनका लागी साधारण सदस्य र आजिवन सदस्यलाई व्यवस्थित गराउने काम पनि उनले सम्पन्न गरे । त्यसबाहेक संगीत सेन्सरवोर्डको आवश्यकता महसुस गराएर सरकारलाई यसप्रति ध्यानाकर्षण गराए । भलै, वोर्डको स्थापना भएको छैन । अध्यक्ष पंगेनी भन्छन्, ‘आगामी नेतृत्वले बाँकी काम सम्पन्न गर्ला । तर, केहि कामको सुरुवात मैले गरेको थिएँ, त्यसलाई सम्पन्न गर्न त साधारण सदस्य भएपनि केहि फरक पर्दैन ।’ पंगेनीको कार्यकाल भन्दा अघि संगीत क्षेत्रमा विकृती बढिरहेको व्यापक गुनासो आइरहेको थियो । तर, उनको कार्यकालमा यस्ता गीत खासै सुनिएन । कतिपय गीत रेकर्डिङ स्टुडियोबाटै मिक्सिङ नगरेरै डिलिट समेत गरियो । पंगेनीको कार्यकालमा यस्ता खालका गीत वजारमा नआउनु धेरै राम्रो कुरा हो, प्रतिष्ठानका एक पुर्व अध्यक्ष भन्छन्, ‘पंगेनीले जे सोच्नुभएको थियो, सफल हुनुभयो । उहाँ भन्दा अझ राम्रो नेतृत्व आयो भने संस्था धरै माथी जानेछ ।’

साप्ताहिकबाट

तपाईको प्रतिक्रिया