सम्भावित शीतलहर र पूर्व तयारी


चिसो मौसम सुरु भइसकेको छ । सामान्य अवस्थामा भन्दा चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोका कारण विशेष गरी बालवालिका र बृद्धबृद्धा वढी प्रभावित हुन्छन् । शीतलहरबाट नेपालमा वर्षेनी सर्वसाधारणले जीवन गुमाउने गरेका छन् । अघिल्लो वर्ष शीतलहरकै कारण १५ जनाको मृत्यु भएको थियो । चिसो मौसममा हरेक वर्ष तराइ क्षेत्रमा हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न पूर्व तयारी आवश्यक पर्छ । यसै सन्दर्भमा यसवर्ष शीतलहरको सम्भावना, र सर्वसाधारणको सुरक्षाका लागि गृह मन्त्रालयको तयारीबारे ईमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले विशेष कुराकानी गर्नुभएको छ । कार्यक्रममा सहभागी जल तथा मौसम विज्ञान विभागका मौसम विद् बरुण पौडेलले यसवर्ष पनि शितलहर, हिमपात र बाक्लो हुस्सुको सम्भावना रहेको वताउनुभयो । उहाँले ७२ घण्टा अघि सम्भावित शीतलहर, हिमपात र हुस्सुबारे पूर्व सूचना जारी गरिने भन्दै कृषिसँग सम्बन्धित पूर्व सूचना एकसाता अघि नै जारी गर्न सकिने गरी ब्यवस्था मिलाइएको वताउनुभयो । वेभसाइट, ईमेल, हटलाइन टेलिफोन लगायतका माध्यमबाट समयमै सूचना दिने कुरामा कुनै कञ्जुस्याई नहुने भन्दै मौसमविद् पौडेलले नेपालमा पूर्व सूचना प्रणालीको विश्वसनीयता वढ्दै गएको वताउनु भयो । “हामी समयमै मौसम सम्बन्धी सम्पूर्ण विवरण दिने अवस्थामा छौ, प्राविधिक रुपमा पनि सक्षम बनेको स्थिति छ” मौसमविद् पौडेललले भन्नुभयो ।
यस्तै, गृह मन्त्रालयका उपसचिव बंशी आचार्यले शीतलहरबाट हुने क्षति न्युनिकरणका लागि पूर्व सूचना प्रणालीलाई ब्यवस्थित र प्रभावकारी बनाइने वताउनुभयो । “कार्यसमितिको बैठकमार्फत सबै स्थानीय तह र प्रदेशहरुलाई आवश्यक तयारीका लागि सर्कुलर जारी गरी सकेको छौ ”उहाँले भन्नु भयो । शितलहर, हिमपात र हुस्सुका कारण जनजीवन अस्तब्यस्त नबनोस्, मानवीय क्षति नहोस् भन्नेमा मन्त्रालय सचेत रहेको भन्दै उपसचिव आचार्यले जनतासँग प्रत्यक्ष रुपमा जोडिने भएका कारण मुल रुपमा स्थानीय तहहरु तयारी अवस्थामा रहन आवश्यक भएको वताउनुभयो । यस्तै, प्रदेश र स्थानीय तहमा विपद् ब्यवस्थापन समितिलाई थप सक्रिय राख्ने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राख्ने, समूदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने लगायतका कामलाई प्रभावकारी ढंगले अघि वढाइने उपसचिव आचार्यले वताउनुभयो । “सबै निकायबीच उचित समन्वयको आवश्यक्ता छ र त्यसका लागि मन्त्रालयले काम गरिरहेको छ” उहाँले भन्नुभयो ।
प्रदेश र स्थानीय तहहरुमा समेत विपद् ब्यवस्थापन समिति बनिसकेका कारण शितलहरबाट हुने मानवीय र भौतिक क्षतिमा कमी ल्याउन प्रभावकारी काम हुनेमा आशावादी हुनसक्ने ठाउँ बनेको छ । एकातिर पूर्व तयारी अन्तर्गत स्थानीय संचार माध्यमहरुमार्फत सूचना प्रवाह, समूदायमा आधारित कार्यक्रम संचालन, आवश्यक खाद्य सामाग्री, औषधी, लत्ता कपडा र दाउराको भण्डारण लगायतका काम गर्नु जरुरी छ भने अर्कोतिर शितलहरको अवस्थामा तत्कालै पीडितलाई सहयोग गर्न स्वयंसेवकहरुलाई तयारी अवस्थामा राख्नु पनि त्यत्तिकै आवश्यक छ । यस्तै पीडितलाई राहत पुग्ने गरी स्वास्थ्य शिविर संचालन औषधी उपचारको प्रवन्ध, लत्ता कपडा र खाद्यान्नको जोहो गर्नु पनि जरुरी छ ।
शीतलहरले स्थानीय समूदायको शैक्षिक, आर्थिक गतिविधि समेत ठप्प हुने गरेको अवस्थालाई कम गर्न जनजीवन सामान्य तुल्याउने गरी स्थानीय तह र समूदायले आवश्यक योजना बनाउँदा शितलहरबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ । अर्कोतिर हुस्सु र शीतलहरको समयमा आगो ताप्नेक्रममा हुने आगलागी र सवारी दूर्घटना कम गर्न समेत विशेष रुपमा योजना बनाउनु आवश्यक छ । एकीकृत र समन्वयात्मक प्रयास हुन सक्यो भने शीतलहरबाट हुने मानवीय र भौतिक क्षतिमा कमी ल्याउन सकिनेमा कुनै शंका छैन । यसै, तथ्यलाई ध्यानमा राखेर शीतलहरका कारण हुनसक्ने मानवीय क्षतिलाई कम गर्न सम्वद्ध निकायहरुले अहिलेदेखि नै पूर्व तयारीका कामहरु गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया