देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे

आइतवारदेखि सुरु भएको मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोजन्य विपद्‍बाट तीन दिनमा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। पहिरोका कारण काठमाण्डू जोड्ने एउटा प्रमुख सडक पृथ्वी राजमार्ग सहित ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको अधिकारीले बताएका छन्। चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ ।

नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अबरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ ।

गएराति पोखरा–बागलुङ सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । 

निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । 

सोमवार चीनको खासा क्षेत्रमा पर्ने ‘केरूङ च्छो’ पोखरी भरिएर फुट्न सक्ने जोखिममा रहेको भन्दै चिनियाँ अधिकारीहरूले नेपाललाई जानकारी गराएको अधिकारीहरू बताउँछन्।

सो पोखरी फुटेमा भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र किनारको बस्तीमा ठूलो बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ। कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खुला गरिएका छन् भने नारायणीको पानी मिसिने ठाउँमा रहेको गण्डक ब्यारेजका पूरै ३६ वटा ढोला खोलिएको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया