अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा

१ ) आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, मेरो सिंंगो जीवन कुनै न कुनै संघर्षमा वित्दै आएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमान लागि संघर्ष,   कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष ।

२) मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसँग निरन्तर लड्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुनपुगेको  यहाँहरुलाई जानकारी नै छ । यसै सन्दर्भमा आज भन्दा झन्डै १२ वर्ष अगाडि मेरो दुइटै मृगौलाले काम गर्न छाडेपछि ०६४ साउनमा  पहिलो पटक मृगौला प्रत्यरोपण गराएको थिएँ । त्यस बेला हाम्रो देश नेपालमा मृगौला प्रत्यरोपणको सुविधा थिएन । 

३) पर्सी फागुन २१ गते बुधबार फेरी मैले मृगौला प्रत्यरोपण गराउँदै छु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु । 

४) विज्ञान, आधुनिक प्रविधि ज्ञान र सीपले मृगौला प्रत्यरोपण पहिलेजस्तो जटिल मानिँदैन । यसपटको मृगौला प्रत्यरोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वाश लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा, आफ्नै देशका अनुभवी चिकित्सकहरुद्वारा प्रत्यरोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पनि छु । 

५) भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनाहरु हामी सबै मिलेर जगायौं । त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरी तपाईंहरु सबैले आफूलाई उभ्याउनुभयो । 

६) जसरी खेलको बीचमा राम्रो खेलाडिले मैदान छोड्दैन त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जागृत हुँदै गरेका सपना साकार पार्नलाई हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । 

७) म पुन एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुस् । हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वाश लिएर म काममा फर्कने छु । 

८) यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्नेछ । विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् या भइपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु । 

९) मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद् दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता कार्यकर्ता सांसद्हरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियाशील हुनेमा म विश्वश्त छु । 

(प्रधानमन्त्री केपी शर्मा अ‌ाेलीले मृगाैला प्रत्यराेपणका लागि अस्पताल भर्ना हुनु अघि दिनुभएको भिडियो सन्देश )

तपाईको प्रतिक्रिया