निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण


नेपाल सरकारका सचिव मधुसुधन अधिकारी अहिले सहरी विकास मन्त्रालयको सचिव हुनुहुन्छ । यसै सिलसिलामा कार्यक्रम टक अफ द टाउनले गरेको समग्र सहरी विकासका सम्बन्धमा गरिएको कुराकानीको सारसंक्षेप ः
निजामती प्रशासन ः
आधारभूत रूपमा कर्मचारीतन्त्र सिर्जनात्मक भएन, राजनीतिलाई नै सही मार्गदर्शन गर्ने गरी यसले कार्य गर्न सकेन भन्नु वा मुलुकमा राजनीतिज्ञले केही गर्न सकेनन् अब कर्मचारीतन्त्रले केही गर्छ कि भन्ने अपेक्षा राख्नु नै गलत हुन जान्छ । वास्तवमा कर्मचारीतन्त्रका हात कानुनद्वारा बाँधिएका हुन्छन्, दिमाग सीमित गरिएको हुन्छ, पद अनुसारको बुद्धि हुने अपेक्षा गरिन्छ । यसलाई रिङ बाहिर जान वर्जित गरिएको हुन्छ । अनुशासनको अपेक्षा गरिन्छ र वैधानिकताको प्रश्न तेर्सिन्छ । सिधै भनौँ भने अदालत लाग्छ, अख्तियार लाग्छ वा सतर्कता लाग्छ । अझ स्पष्ट भनौँ भने बढुवा रोकिन्छ । नचाहेको सरुवा हुन सक्छ । ग्रेड घट्न सक्छ वा यस्तै यस्तै ।
अहिले देशमा स्थायी सरकार आएको छ । तर, योभन्दा अगाडि छिटोछिटो सरकार परिवर्तन हुने र बनेका योजना कार्यान्वयनमा नजाने र त्यो योजना त्यही सकिने भयो । फेरि अर्को नयाँ सरकार आउने । त्यसले नयाँ योजना ल्याउने । फेरि त्यो सरकार हट्ने । नीति, नियम बनाउने तर कार्यान्वयमा नजाने भयो । तर, अहिले सरकाल स्थायी छ ।

कर्मचारीतन्त्र किन आलोचित हुन्छ ?
कर्मचारीतन्त्रलाई वैधानिक शक्तिप्राप्त, पद सोपानमा आधारित, अभिलेखका आधारमा कार्य गर्ने, निर्वैयक्तिक, पेशागत रूपमा दक्ष, पूर्णकालीन, स्थिर खालको आदर्श प्रणाली मानिन्छ । यद्यपि अहिले आएर यसलाई एक सङ्गठनात्मक दीर्घ रोग मान्न थालिएको छ । जुन रोगको लक्षण अत्यधिक पेपरवर्कमा अल्झिने, ढिलासुस्तीयुक्त प्रक्रियामा रमाउने, झुम्सो, अल्छी, कुरौटे, निहुँ खोजी रहने आदि ठानिन्छ ।
कर्मचारीतन्त्र आफैमा राज्यको एक शक्तिशाली पद्धतिको रूपमा विकास भएको छ । विगत कालदेखि नै यसले आफ्नो शान र मान राखेको छ । मुलुकको श्रीवृद्धि र विकासको गतिमा अपेक्षित भूमिका खेल्न नसकेको भएता पनि बेला बेलामा मुलुकमा सङ्कटग्रस्त अवस्था आइपर्दा काँध यसले थापेको छ । केही हदसम्म भए पनि यसले निर्वैयक्तिकता, विशेषज्ञता र वैधानिकता पुष्टि गर्न सकेकोमा केहीले गर्व गर्न लायक संस्था पनि ठान्छन् । अहिले नेपालको कर्मचारीतन्त्र खास गरी निजामती कर्मचारीको गिर्दो साखलाई जोगाउनु हम्मेहम्मे परेको छ । हालका दिनमा कर्मचारीतन्त्र पुरै रक्षात्मक अवस्थामा पुगेको छ । अझ आलोचकहरूको आँखामा मुलुकको दुर्दर्शाको प्रमुख कारण नै यही थोत्रो कर्मचारी तन्त्र हो ।
कर्मचारीतन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र नै हो । यसको प्रतिस्पर्धात्मक क्षमता बढाउँदै कर्मचारीतन्त्रलाई राजनीतिकको खुरापाती होइन भरपर्दो र असल साझेदारको रूपमा विकास गर्न र आम जनमानसको विश्वास आर्जन गर्दै समग्र कर्मचारीतन्त्रको शान र मान राख्न विकल्पहरू तय गरिनु पर्दछ ।
सहरी विकास ः
हाम्रा सहरी क्षेत्र अहिले अस्तव्यस्त छन् तर सुधारका कार्यहरु पनि भएका छन् । तर, जति हुनुपर्ने हो त्यो भएन । समन्वयको अभाव एकदमै देखिन्छ । योजना छन्, कानून छन्, नीति नियम छन् । तर त्यसलाई कार्यान्वयमा लान ठूलो चूनौती छ । त्यसको प्रमुख कारण अस्थिर राजनीति हो । अस्थिर सरकार हो । एउटा सरकाले एउटा नीति बनाउँछ तर त्यो कार्यान्वयमा नजादैं त्यो सरकार ढल्छ । नेपालमा यो सिलसिला धेरै लामो भयो । तर, अहिले स्थिर सरकार आएको छ । अहिले बनाएका नीति, योजना कार्यान्वय गर्ने र सरकारको नीतिलाई, उद्देश्यलाई मूर्त रुप दिन सकिने अवस्था आएको छ । यसलाई सबैले आत्मसाथ गर्दै अगाडि बढ्ने हो परिवर्तन समभव छ ।

तपाईको प्रतिक्रिया