शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा

काठमाडौं । नेपाल प्रहरीमा एउटा चर्चित कहावत छ –‘पूर्व डीआईजी शम्भु थापा क्षेत्री परिवारका सदस्यलाई प्रहरीकाे निलो गाडी चढ्न दिनुहुन्थेन, भन्नुहुन्थ्यो – गाडी संगठनले मलाई चढ्न दिएको हो, तिमीहरुलाई हाेइन ।’ 

तीनै शम्भुका छोरा हुनुहुन्‍छ मंगलबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेका शैलेश थापा क्षेत्री । भक्तपुरको कटुञ्जेमा ‘काजी’ परिवारमा जन्मे हुर्केका थापा आफ्नो बुवाको पदचाप पछ्याउँदै ०४९ मा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

‘लो प्रोफाइल’मा बसेर काम गर्न रुचाउने शैलेशले कहिल्यै ‘हिरोइज्म’ र ‘सेलिब्रेटी’ पुलिसिङ गर्नुभएन । तर, ८० हजार फौज भएको प्रहरी संगठनमा शैलेशले एउटा छुट्टै छवि बनाउनुभएको छ । त्यो हाे – ‘कानुन बमोजिम काम गर्ने अफिसर ।’ 

इमान्दार छवि

भक्तपुरको हुनेखाने परिवारमा हुर्किएका शैलेश पूर्व डीआईजी शम्भुका कान्छा छोरा हुनुहुन्‍छ । उहाँका एक दाई र एक बहिनी छन् । उहाँको श्रीमती र एक छोरी छन् ।  

प्रहरी उपरीक्षक (एसपी) भएर उहाँले झापाको कमाण्ड समालेको बेला स्थानीय निर्वाचन भयो । त्यतिवेला थापाले आफ्नो कार्यालयको लेखापाललाई कारवाही गरेको घटना अहिले पनि प्रहरीभित्र चर्चा हुन्छ । 

घट्ना यस्तो थियो – ‘स्थानीय निर्वाचनका लागि निकासा आएको थप बजेटमध्ये केही पैसा बाँकी रह्यो । एकाउन्टेन्टले गाडी भाडामा लिएको बिल मिलाएर सो रकम निकाल्न खोजेका थिए ।  बिल र भाडामा लिएका गाडी रुजु गर्दा फर्जी बिल बनाएर पैसा बाँडीचुँडी खान खोजेको थाहा पाएपछि ती लेखापाललाई थापाले भन्‍नुभयो –‘फर्जी बिल बनाएर मलाई घूस खुवाउन खोज्या ? कारवाही गर्छु, लेखापाल थापाको कारवाहीमा परे ।’

इन्चार्ज हुँदा खर्च बचाउने अनि, लेखापाल र हाकिम मिलेर ‘बजेट खाने’ प्रथाका विरोधी हुनुहुन्छ क्षेत्री । २८ बर्षको ‘प्रहरी करिअर’मा थापा कहिल्यै विवादमा पर्नुभएको छैन् । ‘इमान्दार’ अधिकृतको रुपमा आफ्नो छवि बनाउनुभएको छ । 

शैलेशले आफ्नो करिअरको लामो सयम प्रहरी महानिरीक्षकको सचिवालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान लगायत नीति निर्माण गर्ने ठाउँमा बिताउनुभयो । 

काठमाडौं उपत्यका बाहिरका जिल्लामा जहाँ नेतृत्व गर्ने अवसर दिइयो, त्यहाँ जनताको मन जितेर फर्कनुभयो । 

माओवादी विद्रहको बेला प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा उहाँले धादिङको कमाण्ड समाल्नुभएको थियो । त्यतिवेला उहाँसँगै काम गरेका एक प्रहरी अधिकृत सम्‍झन्छन्–‘युद्धको त्रास थियो, जिल्ला प्रहरी कार्यालयबाट शैलेश सर निस्केपछि स्थानीयले बाटोमा पानीका घडा राखेर सम्मान गर्थे ।’ 

कमाण्डरको विश्वासपात्र 

शैलेश नेपाल प्रहरीमा सबैभन्दा थोरैमात्र नेता चिन्ने तर, नेताको दैलो नचाहर्ने अधिकृतका रुपमा चिनिनुहुन्छ । बढुवा र पोष्टिङ माग्न कहिल्यै राजनीतिक नेतृत्वको ढोका नचहारेका थापाले आफ्ना कमाण्डको विश्वास भने सँधै जित्नुभयो । 

प्रहरी उपरीक्षक (एसपी) हुँदा जिल्ला प्रहरी कार्यालय पोखरा र झापाको कमाण्ड समाल्नुभएका उहाँलाई कुनै दलका नेताले मागेका हैनन् । बरु, तत्कालीन प्रहरी महानिरीक्षकले थापालाई ती जिल्लामा पोष्टिङ गरिदिएका थिए । 

प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गर्नुभएका थापा दुई कार्यकाल प्रहरी प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो । 

पछिल्लो समय प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएपछि थापा प्रहरी प्रधान कार्यालयको मानवस्राेत एवं प्रशासन विभागमा कार्यरत हुनुहुन्थ्यो । 

इन्सपेक्टर हुँदा सल्यान, सिन्धुपाल्चोक एकेडेमी र प्रहरी महानिरीक्षकको सचिवालयमा उहाँले काम गर्नुभएको थियो । ‘कमाण्डरले दिएको जिम्मा त्रुटीरहित तरिकाबाट गर्नसक्ने खुबी थापामा छ’

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्नुहुन्छ–‘शैलेशको पुलिसिङमा खोट लगाउने ठाउँ छैन, परिपक्व योजना बनाउन सक्ने क्षमता छ ।’ खनाल प्रहरी प्रमुख हुँदा थापा उहाँको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । 

भनिन्छ नि – ‘सपना देखेर मात्र हुँदैन, त्यो पाउन लगन र इमान्दारिता चाहिन्छ ।’ इन्सपेक्टर हुँदा देखि नै एक नम्बर रहनुभएका क्षेत्रीले अन्ततः हरेक सिनियर प्रहरी अधिकृतले देख्ने सपना ‘महानिरीक्षक’ पदलाई विपनामा बदल्न सफल हुनुभएको छ । 
 

तपाईको प्रतिक्रिया