मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी


उदय पोखरेल

वैशाख २८ । काठमाडौं ।
कोरोनाको सन्त्रास तथा लकडाउनको बीचमा पनि राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको छ । सामाजिक दुरी कायम गर्दै तथा स्वास्थ्य सुरक्षा साबधानी अपनाएर कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।
अहिले मुहान तथा टनेलको काम अन्तिम चरणमा पुगेको छ । टनेलमा गेटहरुको निर्माण तथा भेन्टीलेसन स्याफ्टको काम धमाधम भइरहेको छ । मेलम्चीको मुहानमा ड्याम निर्माणको काम भइरहेको छ ।
लक डाउन अघि सम्म ४ सय भन्दा बढी मानिसहरुले काम गरिरहेको मेलम्ची खानेपानी आयोजनामा अहिले १ सय भन्दा बढी कामदाहरु छन् । कोरोनाको संक्रमण तथा लकडाउनको कारण सिमित जनशक्तिले काम गर्नु परिरहेको तथा सामाग्रीको समेत अभाव भइरहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो । साथै टनेल भित्रको भेन्टीलेसन स्याफ्टको काम सम्पन्न गर्न अलि बढि चुनौतिपुर्ण रहेको उहाँको भनाइ थियो ।


‘जनशक्तिको अलिकति समस्या छ अहिले । पहिले सय जना थिए भने अहिले एक सय जना जति छन् । सिमेन्ट लगायतका निर्माण सामग्रीको अलिकति समस्या छ । नेपाल भित्र पनि ओहोरदोहोर गर्न अलिकति समस्या भएको छ । विदेशबाट आउने सामान पनि भारतको कोरोना संक्रमणको रेड जोनमा रोकिएको छ ।’
केही अत्यावश्यक सामाग्रीहरु उपलब्ध हुन सक्यो भने अझै पनि तोकिएको मिति आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झार्न सकिने उहाँले बताउनु भयो, ‘परीक्षणको रुपमा सुन्दरीजलसम्म असार भित्र झार्ने लक्ष्य छ ।’
इटालिएन कम्पनी सिएमसीले ठेक्का छोडे पछि निर्माणको जिम्मा अहिले चाइनिज कम्पनी सिनो हाइड्रोले लिएको छ । ठेकेदार कम्पनी सिनोहाइड्रोले समेत आगामी असार मसान्त भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरि काम भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया