बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !

बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीलाई भोज दिए । तर बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् ।

काठमाडौँ — २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त गर्थिन् । सकारात्मक जवाफ आक्कलझुक्कल मात्रै पाउँथिन् । सरकारबाट बुधबार बाहिरिएकी उनको प्रधानमन्त्रीसँग सबैभन्दा ठूलो गुनासो छ, ‘प्रधानमन्त्रीबाट सल्लाह र निर्देशन पाइनँ ।’यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएर वाहवाही कमाएका लालबाबु पण्डितको दुःख पनि थापाको भन्दा कम छैन । उनी मुलुकको संघीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने अभिभारासहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका थिए । प्रधानमन्त्रीको चाहनाअनुसार उनले काम गर्न सकेनन् या उनको चाहनाअनुसार कर्मचारीतन्त्र चल्न सकेन, खुटिएको छैन । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा मन्त्री बन्दा भने उनले असहज महसुस गरे ।
अनौपचारिक रूपमा खबर आए पनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न जान नसकेको जानकारी दिइन् । पण्डितले पनि आफू थप एक/दुई दिन व्यस्त रहने प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री कार्यालयबाट आएको निम्तोबारे मलाई थाहा छैन,’ उनले भने, ‘म दुई दिन जति कोठा मिलाउने काममै व्यस्त हुन्छु ।’
थापा र पण्डित मात्रै होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री पनि रात्रिभोजमा अनुपस्थित रहे । तिनैमध्ये एक पूर्वमन्त्रीले आत्मसम्मानका लागि राजनीति गर्नेहरूलाई खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रतिक्रिया दिए । आफूहरूलाई प्रधानमन्त्रीले खुवाउने खानामा कुनै रुचि नभएको उनले बताए । ‘प्रधानमन्त्रीज्यूकोमा डिनर भनेर बोलाइएको थियो, हाम्रो घरमा ‘भात’ पाकेको थियो,’ उनले भने, ‘डिनरमा रुचि थिएन, त्यसैले गइएन ।’पूर्वउद्योगमन्त्री मातृका यादव र कृषि राज्यमन्त्रीबाट पदमुक्त भएकी रामकुमारी चौधरीले पनि आफूहरूलाई निम्तो आए पनि फुर्सद नभएका कारण जान नसकिएको बताए । यादवले त आफूलाई जान मिल्ने अवस्था नभएको भन्दै यस विषयमा थप नसोध्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जिम्मेवारीमुक्त भएका, नवनियुक्त र बहालवाला मन्त्रीहरूका लागि रात्रिभोज आयोजना गरेर उनीहरूलाई दम्पतीसहित आउन निम्तो दिएका थिए । बेलुका ६ बजेतिर सुरु भएको भोज राति ८ बजे सकिएको थियो । भोजमा काठमाडौंमा नभएकाबाहेक सबै बहालवाला मन्त्री दम्पतीसहित गएका थिए । ‘मन्त्रीहरूबीच आपसी चिनजान त थियो,’ रात्रिभोजमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘मन्त्रीका श्रीमतीहरूले पनि आपसमा चिनजान गर्नुभयो ।’ सबैबीच चिनजान र मित्रता कायम रहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीले भोज राखेको उनले बताए ।
भोजमा लोकल कुखुराको मासु र मेथीको दाललाई विशेष परिकारका रूपमा राखिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्रीपत्नी राधिका शाक्यले मेथीको दाल बनाउने तरिका र त्यसबाट हुने फाइदाबारे बताएको ती सदस्यले बताए । प्रधानमन्त्री ओलीले विभिन्न अवसरमा यस्ताखाले कार्यक्रम आयोजना गर्दै आए पनि मन्त्रीहरूका परिवारसहितको कार्यक्रम राखेको पहिलो पटक हो ।
News from kantipur daily

तपाईको प्रतिक्रिया