पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । कम्तीमा १७ जना बेपत्ता छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक न्यौपानेले बेपत्ताको खोजी र उद्धारको काम जारी रहेको बताउनुभयो । अहिले स्थानीयहरु खोजी कार्यमा जुटेका छन् ।  सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया