नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध

हुम्ला, जेठ २० गते ।दुई दिनदेखि नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपालगञ्जले हुम्ला मात्र नभई नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिमको बाजुराको कोल्टीका लागि कुनै पनि उडान हुन नसकेको जनाएको हो ।

मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने प्राधिकरणको नयाँ नियमका कारण यस क्षेत्रमा उडान हुन नसकेको सम्बन्धित विमान सेवा कम्पनीले जनाएका छन् । प्रविधिको प्रयोग गर्न नसकिने र आँखाले हेरेको भरमा उडान र अवतरण गर्नुपर्ने विमानस्थलमा यो नियम पालनामा कडाइ गरिएको छ । 

यसअघि उडान हुने र अवतरण हुने विमानस्थलको मौसमको अवस्थाका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको अनुमति दिँदै आएकामा अहिले दुवै विमानस्थलको अतिरिक्त उडान मार्ग (इनरुट)को मौसम पनि राम्रो भएमा मात्रै उडान अनुमति दिन थालिएको हो । 

कहिले मौसम राम्रो नभएको त कहिले मौसमसम्बन्धी जानकारी नहुँदा दुई दिनयता कर्णालीमा कुनै पनि विमान सेवा कम्पनीका जहाजले उडान भर्न नसकेका हुन् । नेपालगञ्जबाट कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान हुने गर्छ । मौसम पूर्वानुमान महाशाखाबाट मौसमसम्बन्धी जानकारी नआउने भएका कारण समस्या देखिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयले जनाएको छ । 

मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्ययन प्राधिकरणले नयाँ नियम ल्याएपछि कर्णालीमा उडान प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख मोहन गिरीले दुई दिनयता हुम्लामा कुनै पनि उडान हुन नसेको बताउनुभयो ।

उहाँले हुम्लाका लागि कालीकोट र दैलेख क्षेत्रको ‘इनरुट’को मौसमको जानकारी नआएका कारण प्राधिकरणको नेपालगञ्ज कार्यालयले उडान भर्ने अनुमति नदिएको जानकारी दिनुभयो । बाजुुराको कोल्टी विमानस्थलले मौसमको विवरण उपलब्ध गराउने भए पनि कालीकोट र दैलेख क्षेत्रको ‘इनरुट’को मौसमको विवरण प्राधिकरणलाई लिन समस्या रहेको बताइएको छ । बुधबारदेखि हुम्लाको मौसम उडान भर्न उपयुक्त भए पनि उडान हुन नसक्नुको कारण ‘इनरुट’को मौसमको जानकारी नहुनु रहेको गिरीले बताउनुभयो । 

सिमकोटमा तारा एयरले दुई दिनदेखि यात्रुलाई बोर्डिङ पास हातमा थमाएको भए पनि बिहीबार १ बजेसम्म विमानस्थलमा कुराएर फिर्ता पठाएको छ । उडान नहुँदा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका यात्रु बढी प्रभावित भएका छन् ।

खराब मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि प्राधिकरणले मौसमको रिपोर्टका आधारमा मात्रै उडान अनुमति दिन थालेको हो । नयाँ व्यवस्थाअनुसार प्रविधि जडान नभएका विमान र विमानस्थलबाट उडान मार्ग (इनरुट)को मौसमलाई पनि हेर्न थालिएको हो । यसअघि विमान उडान हुने र अवतरण हुने विमानस्थलको मौसमका आधारमा मात्रै उडान अनुमति दिइन्थ्यो । दुर्घटना न्यूनीकरणका लागि यो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया