बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ ।

सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको अधिकारीले बताएका छन । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ ।

बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् ।

कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको प्रहरी अधिकारीले बताएका छन ।

कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भएको छैन ।

पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन ।

बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया