आगामी नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति आउँदै

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियानलाई समेट्ने बताउनु भएको छ । मिडिया हेल्प लाइनद्वारा उत्पादित कार्यक्रम टक अफ द टाउनमा उहाँले भन्नु भयो, आउने नीति तथा कार्यक्रममा खानेपानी मन्त्रालयले यसलाई प्रस्ताव गर्छ ।’ खानेपानीको आधारभूत सुविधाबाटै बञ्चित जनसंख्या अझै ६ प्रतिशत हाराहारीमा छ । अहिले पनि देशका कतिपय भुभागमा घण्टौंसम्म डोकोमा बोकेर पानी पिउनुपर्ने बाध्यता छ ।

सरकारले अघिल्लो नीति तथा कार्यक्रममा समेटेको एक घर एक धारा नीति लिएको थियो । देश खुला दिसामुक्त राष्ट्र घोषणा भएपनि अझै ५ प्रतिशत नागरिक आधारभूत स्तरको सरसफाइ सुविधाबाटै बञ्चित रहेको जनगणनाको तथ्याङ्कले पनि देखाएको छ । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा बाँकी रहेका ५ प्रतिशत नागरिकमा पनि आधारभूत सरसफाइ सुविधा पुर्‍याउने नीति लिनेछ । यस्तै खुला दिसामुक्त अवस्थाको दिगोपनाका लागि हाटबजार, भीडभाड हुने ठाउँहरु र बजार केन्द्रहरुमा घुम्ती तथा सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने नीति लिने उहाँले बताउनुभयो । खानेपानी सचिव गेलालले खानेपानी र सरसफाइ क्षेत्रको बजेट बर्षेनी घट्दै जाँदा लक्ष्य हासिल गर्न चुनौती थपिएको बताउनुभयो । जहाँ खर्च हुन्छ त्यहाँ पैसा दिन सक्ने अवस्था भए रकमान्तर र कार्यक्रम संशोधन गरिरहनु नपर्ने, दायित्व सिर्जना भएकोमा चाहिने जत्ति बजेट व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो । ‘चाहिए जत्ति रकम राख्यो भने बीचमा रकमान्तर गर्नुपर्दैन । रकमान्तर गर्नु नपरेपछि खर्च गर्न सजिलो हुन्छ । सचिव गेलालले भन्नु भयो, पानी प्रशोधन केन्द्रको पनि विकास र विस्तार गर्छौं । दिसाजन्य लेदो व्यवस्थापनमा सरकारले विभिन्न संघसंस्थासँग मिलेर काम अगाडि बढाउँछ ।

तपाईको प्रतिक्रिया