सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षे कार्यकाल पूरा गरेको छ । उनी पहिलो पटक ०७२ साल असोज २५ मा प्रधानमन्त्री बनेपछि भनेका थिए – ‘अब तुइनको जमाना गयो, तुइन विस्थापन हुन्छ ।’

प्रधानमन्त्रीले तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिने बताएका थिए । त्यही बेलादेखि नै उनले तुइन विस्थापनको योजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढ्यो ।
त्यतिबेलाको १० महिने कार्यकालमा उनको योजना अनुसार काम सुरुआत भयो । तर उनको योजना अनुसार सबै तुइन विस्थापन भएन ।

उनी दोस्रो पटक प्रधानमन्त्री बने ०७४ फागुन ३ मा । उनले अघिल्लो पटक झैं यो पटक पनि तुइन विस्थापन कार्यक्रमलाई प्राथमिकतामा राखे । उनको तुइन विस्थापनको योजनाले मूर्त रुप लिँदै छ ।

नेपालमा रहेका अधिकांश तुइन विस्थापन भइसके । अब १८ वटा बाँकी छ । त्यसमा १७ वटा तुइन यो आर्थिक वर्ष भित्रै विस्थापन हुँदैछ भने एउटा तुइन भने नेपाल–भारत सिमानमा छ, जुन भारतसँगको सहमति पछि विस्थापन हुनेछ ।

तुइन विस्थापन कार्यक्रम

तुइन विस्थापन गर्ने योजना पहिलेदेखि नै भएपनि ०७२/०७३ देखि योजना नै बनाएर काम गर्न थालियो । स्थानीय पूर्वाधार विभागका अनुसार नेपालमा एक सय ४३ वटा तुइन थिए । जुन तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माणलाई सरकारले प्राथमिकतामा राख्यो ।

भयो तुइन विस्थापन, बन्यो झोलुङ्गे पुल

प्रधानमन्त्रीले पहिले तुइन विस्थापनको घोषणा गरेपछि हालसम्म एक सय २५ वटा तुइनहरु विस्थापन भइ झोलुङ्गे पुल निर्माण भइसकेको छ । बाँकी १८ मध्ये १७ वटा तुइनको लागत अनुमान गरी डिजाइन कार्य सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०७६/०७७  मा यी १७ वटा तुइन विस्थापित भइ झोलुङ्गे पुल बनिसक्ने स्थानीय पूर्वाधार विभागले जनाएको छ । एउटा तुइन नेपाल–भारत सिमानामा छ । त्यसका लागि भारत सरकारको सहमति चाहिने भएकाले सो तुइन विस्थापन गर्न केही समय भने लाग्ने भएको छ ।

झोलुङ्गे पुल निर्माणमा पनि उस्तै सफलता

तुइन विस्थापनमा सफलता पाएजस्तै सरकारले झोलुङ्गे पुल निर्माणमा पनि ठूलो सफलता पाएको छ । स्थानीय पुर्वाधार विभागका अनुसार हाल नेपालमा आठ हजार एक सय ४२ वटा पुल निर्माण भएका छन् । यी मध्ये पछिल्लो दुई वर्षको अवधिमा मात्र एक हजार ८७ वटा पुल निर्माण भएका हुन् ।

यस्तै थप एक हजार एक सय २५ वटा पुलहरु बन्ने क्रममा छ । केहीको निर्माण कार्य सुरु भइसकेको छ भने केही पुल डिजाइनको चरणमा छ ।

अहिले संघ, प्रदेश र स्थानीय तहले तीव्र गतिमा पुल निर्माण गरिरहेका छन् । यो आ.व ०७६/०७७ देखि आ.व. ०७९/०८० सम्मा तीन तहले दुई हजार चार सय पुल निर्माण गर्नु पर्ने विभागले जनाएको छ । ती मध्ये चार सयवटा पुल एक सय २० मिटर भन्दा लामा छन् ।

सस्पेन्सन ब्रिज डिभिजनले तीन सय ३२ वटा लामा पुल निर्माणको योजना बनाएको छ । जसमा एक सय वटा पुल यो आ.व. मा सम्पन्न गर्ने लक्ष्य राखेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । गत आ.व. मा डिभिजनले ६२ वटा लामा पुल बनाएको छ । यसका लागि ९६ करोड खर्च भएको डिभिजनले बताएको छ ।

झोलुङ्गे पुल निर्माणमा अब्बल छ नेपाल

तुइन विस्थापन हुँदै नेपालमा झोलुङ्गे पुल थपिने क्रम जारी छ । नेपालको भौगोलिक विकटताका कारण ठूला पुल सम्भव नहुन्जेल झोलुङ्गे पुलले ठूलो राहत दिने गरेको छ ।
नेपालमा झोलुङ्गे पुल बन्न थालेको एक शताब्दी नै भइसक्यो ।

नेपालमा अहिलेसम्म आठ हजार भन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेका छन् । भौगोलिक विकटताका बावजुद यी पुलको सफल निर्माण गर्दैै आएको अनुभवका कारण अहिले नेपाल झोलुङ्गे पुल निर्माणमा विश्वकै उत्कृष्ट भएको छ ।

तपाईको प्रतिक्रिया