एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चेपुवामा छन् । अमेरिकी सहायता परियोजना (एमसीसी) माथिको विवाद बढ्दै जाँदा पार्टी र गठवन्धनको दुईतर्फी दबाब उनीमाथि छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको एक प्रमुख घटक माओवादी केन्द्र पनि हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै पारित गर्न चाहन्छ । तर, माओवादी र सत्ता साझेदार अन्य दल सम्झौताका ‘विवादित बुँदा’ संशोधन गरेर मात्रै अनुमोदन गर्ने पक्षमा छन् । माओवादीमा एमसीसी स्वीकार नै गर्न हुन्न भन्ने मत पनि बलियो छ । एकीकृत समाजवादी का अध्यक्ष माधब कुमार नेपाल र प्रचण्डको मत एउटै छ । माधब कुमार नेपाल प्रचण्डको निष्कर्षमा एकमत हुने संकेत छ ।

प्रचण्डको अफ्ठेरो

छिल्लो समय प्रधानमन्त्री देउवाले सदनमा एमसीसी टेबल गर्न ‘प्रेसर’ गरेपछि प्रचण्ड झन् दबाबमा परेका छन् । उनलाई एकातिर दुःख गरेर निर्माण गरेको गठबन्धन जोगाउनु छ भने अर्कातिर एमसीसी विरोधीहरुको बहुमत भएको आफ्नो पार्टीलाई व्यवस्थापन गर्नु छ । यो अप्ठ्यारो उनले हालै सकिएको आठौं महाधिवेशनमा एमसीसीबारे दिएको जवाफले पनि संकेत गर्छ ।

‘मैले जोडदार ढंगले भनिदिएँ भने तपाईंहरुले यहाँ जोडदार ढंगले ताली लगाउनुहुन्छ,’ आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भनेका थिए, ‘तर, म जोडदार ढंगले भन्दा पनि भन्दिनँ, तपाईंहरुले जोडदार ढंगले ताली पनि लगाउनुहुन्न । त्यो हो, एमसीसी । मैले जे लेखेको छु, त्यही ठिक हो । तपाईंले जे भन्नु भएको छ, त्यो पनि ठिक हो ।’

तपाईको प्रतिक्रिया