जोखिमको बेवास्ताले ठूलो क्षति

जुगल गाउँपालिका-२ गोल्चे लिदीको बस्ती पहिरोको चपेटामा पर्न सक्ने जोखिम स्थानीयले त औंल्याएकै थिए, त्यसप्रति सरकारी निकाय पनि बेखबर थिएन। स्थानीयले बस्ती असुरक्षित भएको भन्दै अन्यत्र स्थानान्तरण गरिदिन पटक-पटक ध्यानाकर्षण गराए। तर, न सरकारले बस्ती सार्‍यो न त स्थानीय आफैं सरे। शुक्रबार बिहान बस्ती माथिबाट आएको पहिरोले ३७ घर पुरिंदा मृत्यु हुनेको संख्या १६ पुगेको छ। २२ जना अझै बेपत्ता छन्।

‘हामीले पटक-पटक जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बस्ती स्थानान्तरणका लागि आग्रह गर्‍यौं तर सुनुवाइ भएन’, वडाध्यक्ष प्रताप लामाले भने, ‘पछिल्लो पटक साउन २३ गते मात्रै सीडीओमार्फत हामीले सरकारलाई आग्रह गरेका थियौं। तर, सुनुवाइ नहुँदा यति धेरै सर्वसाधारणले ज्यान गुमाउनुपर्‍यो।’

स्थानीय निमाछिरिङ दोङले झन्डै एक वर्षअघि गाउँमाथिको जमिनमा धाँजा फाटेको उल्लेख गरे। त्यसपछि गाउँ बगाउन सक्छ भन्ने सोचेर सरकारसँग बस्ती जोगाउन वा अन्यत्र सार्न माग गर्दा सुनुवाइ नभएकाले स्थानीयले सर्वस्व गुमाउनुपरेको दोङको गुनासो छ। धाँजा फाटेको जमिन मुन्तिर बलेफी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ खनेकाले पनि पहिरो गएको हुन सक्ने अनुमान उनले गरे।

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बस्तीहरू जोखिममा परेका विषयमा विभिन्न निकायमा पत्राचार गरिएको बताए। अस्थायी व्यवस्थापन गर्न सामग्रीसमेत उपलब्ध गराइएको उनको भनाइ छ।

‘वर्षात्का बेला तत्काल बस्ती स्थानान्तरण गर्न सम्भव हुँदैन। हामीले अस्थायी र सामूहिक रूपमा बस्न आग्रह गरेको भए पनि अटेर गर्दा थप क्षति भयो’, उनले भने, ‘सरकारले केही गरेन भन्न मिल्दैन। प्रयास गर्दागर्दै क्षति हुन पुग्यो।’

जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी वासस्थानका लागि केही सामग्री पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बस्ती असुरक्षित भएको जानकारी आएपछि प्रदेश विपद् व्यवस्थापन समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भूसंरक्षण कार्यालयलगायत निकायमा अध्ययन र व्यवस्थापन गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘बस्ती नै स्थानान्तरण गर्ने विषय तत्काल सम्भव नहुने भएकाले अस्थायी वासस्थानका लागि आवश्यक सामग्री स्थानीय तहमार्फत उपलब्ध गराइएको थियो’, ढकालले भने, ‘ती सामानसमेत उपयोग नभएकाले गम्भीर दुर्घटना भयो।’

लिदीको पहिरो पछिल्लो घटना हो। यसै वर्षात्मा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा भएका जनधनको क्षति पनि समयमा जोखिमयुक्त स्थान पहिचान गर्न नसक्दा व्यहोर्नुपरेको स्थानीयको बुझाइ छ। भूकम्पका बेला जोखिमयुक्त भनिएका क्षेत्रबाट बस्ती सुरक्षित ठाउँमा सार्ने पहल सरकार र जनस्तर दुवैबाट नभएकाले लगातार क्षति व्यहोर्नुपरेको सांसद शेरबहादुर तामाङको भनाइ छ।

भूकम्प र त्यसपछि जोखिम भनिएका बस्तीमा घर बनाउँदा पनि सरकारले नियमन नगरी उल्टै राहत उपलब्ध गराएकाले पहिरोको समस्याबाट लगातार गुज्रनुपरेको मानवअधिकारकर्मी नातिबाबु धितालको बुझाइ छ। सरकारले सुरक्षित ठाउँमा बस्ती बसाल्नुपर्नेमा सर्वसाधारण आफैंले आफ्नो बस्ती जोखिममा रहेको सूचना दिँदा पनि कुनै सुनुवाइ नहुँदा धनजनको क्षति व्यहोर्नुपरेको उनले बताए।

बागमती प्रदेश सरकारले जोखिमयुक्त लिदी बस्ती तत्काल स्थानान्तरण गरिने जनाएको छ। पहिरोप्रभावित क्षेत्रमा राहत सामग्रीसहित शनिबार पुगेका मुख्यमन्त्री डोरमणि पौडेलले उपयुक्त जमिन खोजी गरी सकेसम्म छिटो स्थानान्तरण गरिने बताएका हुन्।

‘जीविकोपार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ’, मुख्यमन्त्री पौडेलले भने, ‘त्यसका लागि हामीले काम सुरु गरिसकेका छौं।’

स्थलगत निरीक्षणपछि खानेपानीको पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको व्यवस्था गरिएको छ। मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ पहिरो प्रभावित लिदी पुगेका थिए।

१६ जनाको सनाखत, २२ अझै बेपत्ता

पहिरोमा पुरिएर ज्यान गुमाएका १६ जनाको शनिबार सनाखत भएको छ। २२ जना अझै बेपत्ता छन्। लिदीका ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीया सानु दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताए। उनका अनुसार वर्ष ७० का जयबहादुर दोङ, ३० वर्षीया सानोकान्छी भनिने दावालामु दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाका शिशु रमेश दोङ, १६ वर्षीय माइला पराङ दोङ र ३७ वर्षीया मकमाई दोङको पनि मृत्यु भएको छ। यस्तै, ११ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिने बालक कविर दोङ, ५ वर्षीया प्रीति दोङ र ५ महिने शिशु तारा लाम्हु दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

११ जनाको शव शुक्रबार उद्धार टोलीले फेला पारेको थियो। ५ जनाको शव शनिबार भेटिएको हो। पहिरोमा बेपत्ता भएकामध्ये २२ जना अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। घाइते ६ मध्ये १ जनाको काठमाडौंस्थित सिभिल अस्पताल र बाँकी ५ जनाको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ। ‘बेपत्ताको खोजीका लागि मेसिनरी उपकरण लैजान सकेको छैन। मान्छेले मात्र खोज्दा समय लागेको हो’, डीएसपी काफ्लेले भने। आजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया