स्वर्गीय राजा वीरेन्द्रको नगद मात्रै १ अर्व ३५ करोडभन्दा माथि, विदेशी बैंकहरूले विवरण दिन मानेनन्

सरकारद्वारा गठित नेपाल ट्रष्टको कार्यालयले अहिले स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति खोजिरहेको छ । सरकारले २०६४ मा नेपाल ट्रष्टको कार्यालय गठन गरेर स्वर्गीय राजाको सबै सम्पत्ति ट्रष्टको मातहत ल्याउने निर्णय गर्यो । दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति गणतन्त्र आइसकेपछि राष्ट्रियकरण गरिएको थियो । त्यसको संरक्षण गर्ने, थप जग्गा खोज्ने, ती सम्पत्ति समाजिक काममा लगाउने जिम्मा नेपाल ट्रष्टलाई दिइएको छ। राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका नाममा रहेको सम्पत्ति मात्र ट्रष्टको स्वामित्वमा छ। राजसंस्थाको नाममा रहेको सम्पत्ति यसमा पर्दैन । जसमा नारायणहिटी राजदरबार रहेको छ ।

इमेज च्यानल एचडीबाट प्रशारण हुने कार्यक्रम टक अफ द टाउनमा नेपाल ट्रष्टको कार्यालयमा सचिव सरजु कुमार बैद्यले अहिलेसम्म राजा वीरेन्द्रका परिवारका नाममा २१ हजार ६ सय ३३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको बताउनु भयो । उहाँले भन्नु भयो, बैंकमा रहेको बचतबाट आउने ब्याजको ५० प्रतिशतसम्मको रकम नेपालको शिक्षा, स्वास्थ्य र पर्यटनमा लगाउँछौं ।उक्त जग्गामध्ये काठमाण्डूमा १५१ कित्तामा ४४३८ रोपनी छ। भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुर्खेत, कास्की, चितवन र धादिङमा समेत जग्गा रहेको छ।

जमिनका अतिरिक्त तयारी अवस्थामा रहेका भवनहरू पनि रहेका छन्। जसमा गोकर्ण फरेष्ट रिसोर्ट, काठमाण्डू प्लाजा, लाजिम्पाटस्थित केही समय अगाडि स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क रहेको भवन, टेकुस्थित बिजनेस पार्क र कालिमाटीमा रहेको सोल्टी आउटर कम्प्लेक्स रहेका छन्। त्यस्तै पोखराको फेवातालमा रहेको रत्नमन्दिर भवन, भक्तपुरस्थित दियालो बंगला, र हेटौंडामा कान्ति ईश्वरी भवन लगायतका छन् ।
अहिले नेपाल ट्रष्टको स्वामित्मा आएको स्वर्गीय राजा वीरेन्द्रको नाममा विभिन्न बैंकमा गरेर नेपाली रुपैया १ अर्व ३४ करोड छ भने पाउण्ड ५१ हजार ८ सय १५ तथा अमेरिकी डलर १ लाख ५७ हजारभन्दा बढी रकम नेपालका सरकारी बैंकमा छ । त्यस्तै नविल बैंकमा १० लाख ६५ हजार कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार कित्ता, राष्ट्रिय वाणिज्य बैंकमा ६ हजार ७ सय ५० कित्ता सेयर नेपाल ट्रष्टको स्वामित्मा रहेको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजु कुमार वैद्यले भन्नु भयो, बैंकमा रहेको बचतबाट आउने ब्याजको ५० प्रतिशतसम्मको रकम नेपालको शिक्षा, स्वास्थ्य र पर्यटनमा लगाउँछौं ।
विदेशी बैंकहरूले राजा वीरेन्द्रको नाममा रहेको नगद तथा जिन्सीबारे विवरण दिन अस्वीकार गरेका छन्। विदेशस्थित विभिन्न बैंकहरुले ‘व्यक्तिगत गोप्यता’ कारण जनाउँदै राष्ट्रबैंकलाई यस्तो सूचना दिन नमिल्ने जवाफ पठाएका हुन्।२०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका वीरेन्द्र र उनको परिवारको सम्पत्ति खोजबिन सिलसिलामा नेपाल ट्रस्टको कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत स्विट्जरल्यान्ड, संयुक्त अधिराज्य, थाइल्यान्ड, सिंगापुर, हङकङ र भारतका केन्द्रीय बैंकहरुलाई औपचारिक पत्रमार्फत जानकारी माग गरेको थियो। सरकारले फेरि कुटनीतिक माध्यमबाट विभिन्न देशमा राजाको सम्पत्ति के कति छ भनेर पहल गर्न लागेको नेपाल ट्रष्टका कार्यकारी सचिव सरजु कुमार वैद्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया