कोरोनाभाइरस: एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित, इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

बीबीसी-  उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

तयारी

एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।

परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो।

बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो।

सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो।

इटलीमा कोरोनाभाइरसले लगाउने कोभिडइटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

-१९ रोगका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।

इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।

प्रतिबन्धहरूको बेवास्ता

केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका छन्।

आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए।

पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो। त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ।

छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन्।

फ्रान्समा मङ्गलवारदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमैँ बस्न आदेश दिइसकिएको छ।

तपाईको प्रतिक्रिया