कठीन जितसँगै प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीलाई, पुलिस २१ रनले पराजित

काठमाडौं । नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सफल भयो। दिपेन्द्रले दिलिपनाथसँग ५६ रनको साझेदारी गर्दै अर्धशतक बनाए । उनले ५६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान गरे । दिलिपनाथ २२ बलमा २३ रन जोडेर पभेलियन फर्किए भने अनिल शाह १० रन र आरिफ शेख १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एपीएफको बलिङमा किशोर महतोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दिपक बोहोराले समान १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।

एपीएपका लागि अमरसिंह राउटेलाले १५ बलमा २ चौका र तीन छक्कासहित सर्वाधिक २९ रनको योगदान गरे । यसअघि सेमीफाइनलमा राम्रो प्रदर्शन गरेका ओपनर प्रदिप ऐरी ७ र आसिफ शेख ९ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा क्रिजमा आएका ब्याटर लोकेश बमले इनिङ केहीबेर सम्हालेका थिए । उनले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रनको योगदान गरे । सन्दीप जोरा २० बलमा २४ रन, भुवन कार्की २२ बलमा २७ रनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए । पुस १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया