भारतको सहयोगमा पुनर्निर्मित कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

काठमाडौं । ललितपुरमा भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएका कुमारी छेँ तथा नयाँ कुमारी निवासको सोमबार औपचारिक उद्घाटन गरिएको छ।

एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा पुनर्निर्मित संरचनाको उद्घाटन गरेका हुन्।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदानअन्तर्गत करिब ५ करोड रुपैयाँको लगानीमा यी दुई सम्पदा संरचनाको पुनर्निर्माण गरिएको हो। परियोजनाको कार्यान्वयन नेपाल सरकारअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले गरेको थियो।

संरचनाको डिजाइन तथा परियोजना व्यवस्थापनसम्बन्धी परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) ले उपलब्ध गराएको थियो।

उद्घाटन कार्यक्रममा सांसद खरेलले स्थानीय समुदायले सम्पदा संरक्षणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले जीवित सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै पुनर्निर्माणमा भारतबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको बताए।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरसहित विभिन्न जिल्लाका सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा संरक्षणमा भारतले गरेको सहयोगको सराहना गरे। उनले सम्पदा संरक्षणका क्रममा स्थानीय समुदायले गरेको सहकार्यप्रति पनि धन्यवाद व्यक्त गरे।

भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीच ऐतिहासिक तथा सांस्कृतिक रूपमा रहेको निकट सम्बन्धको चर्चा गर्दै सम्पदा संरक्षणका क्षेत्रमा भारतको सहयोग निरन्तर रहने बताए। उनका अनुसार पुनर्निर्मित संरचनाले दुई देशबीचको साझा सांस्कृतिक विरासत, मित्रता र सहकार्यलाई दीर्घकालसम्म प्रतिनिधित्व गर्नेछन्।

भारतले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपालका विभिन्न क्षेत्रमा सांस्कृतिक सम्पदा, आवास, शैक्षिक संस्था तथा स्वास्थ्य संरचनाको पुनर्निर्माणमा सहयोग गर्दै आएको जनाएको छ। सहयोगअन्तर्गत आठ जिल्लाका ३० सांस्कृतिक सम्पदा स्थल, गोरखा र नुवाकोटका ५० हजार निजी आवास, आठ जिल्लाका ८५ शैक्षिक संस्था तथा ११ जिल्लाका १३३ स्वास्थ्य संस्थाको पुनर्निर्माणमा सहयोग गरिएको उल्लेख छ।

कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माणले भूकम्पबाट प्रभावित सम्पदाको संरक्षणसँगै नेपाल–भारतबीचको विकास सहकार्यलाई समेत थप बल पुगेको आयोजकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया