नेपाली स्याउको बजार सुनिश्चित गर्न आयात व्यवस्थापन गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले स्वदेशी स्याउ उत्पादन हुने समयमा विदेशी स्याउको आयात व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले जुम्लासहित हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउले उचित बजार नपाइरहेको अवस्थामा चीन र भारतबाट ठूलो परिमाणमा स्याउ भित्रिने अवस्था अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्रै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको उनले संसद्मा जानकारी दिए।

शाहीले जुम्लामा स्याउ खेती विस्तारका लागि पर्याप्त सम्भावना रहेको पनि उल्लेख गरे। उनका अनुसार जिल्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहे पनि हाल ४ हजार ४९७ हेक्टर, अर्थात् करिब ११.७ प्रतिशत क्षेत्रमा मात्रै स्याउ खेती भइरहेको छ।

बाँकी सम्भावित क्षेत्रमा समेत व्यावसायिक स्याउ खेती विस्तार गर्न सके स्वदेशको मागको ठूलो हिस्सा घरेलु उत्पादनबाटै पूर्ति गर्न सकिने उनको भनाइ छ।

शाहीले सरकारले जुम्लाका किसानको उत्पादन क्षमता बढाउन लगानी गर्नुपर्नेमा जोड दिए। उनले किसानलाई आवश्यक बिरुवा, सिँचाइ, सडक पूर्वाधार, भण्डारण सुविधा र बजारको पहुँच उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

उनले कृषि क्षेत्रमा दिइने अनुदान वास्तविक किसानसम्म पुग्ने व्यवस्था गर्नुपर्ने पनि बताए। नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन राज्यले आवश्यक संरक्षण र सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो।

शाहीले स्वदेशी स्याउ उत्पादनलाई प्रोत्साहन गर्दै आयात व्यवस्थापन गर्न सके किसानको आम्दानी बढाउनुका साथै रोजगारीका अवसरसमेत देशभित्रै विस्तार गर्न सकिने बताएका छन्।

तपाईको प्रतिक्रिया