सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त ऋणी घर फर्किए

काठमाडौँ । नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच सहमति भएपछि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर जारी धर्ना स्थगित भएको छ। सहमतिपछि धर्नामा सहभागी ऋणीहरू आइतबार आ–आफ्नो घरतर्फ फर्किएका छन्।

सरकार र ऋणी पक्षबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि आन्दोलनको कार्यक्रम रोकिएको हो।

सहमति कार्यान्वयनसँगै सरकारले आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत धर्नामा सहभागीहरूलाई सम्बन्धित गन्तव्यतर्फ पठाएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसबाट घरतर्फ पठाइएको हो।

उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लामा पठाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया