सेयर बजारमा दबाब, नेप्से २६ सय अंकभन्दा तल

काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेपाली सेयर बजारमा व्यापक गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेपछि २,५९९ अंकमा सीमित भएको छ।

बजारमा बिक्री चाप बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। सोमबार ४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार गतिविधि पनि अघिल्लो दिनको तुलनामा सुस्त देखिएको छ। सोमबार कुल ३ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

समूहगत प्रदर्शन हेर्दा कुनै पनि क्षेत्र सकारात्मक रहन सकेनन्। जलविद्युत् समूहको सूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ। निर्जीवन बीमा समूहमा पनि १.१२ प्रतिशतको गिरावट आएको छ।

त्यस्तै जीवन बीमा समूह ०.८१ प्रतिशत, वित्त ०.८० प्रतिशत, अन्य ०.७८ प्रतिशत, बैंकिङ ०.६७ प्रतिशत, व्यापार ०.५० प्रतिशत, लघुवित्त ०.५३ प्रतिशत, विकास बैंक ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत र लगानी समूह ०.४१ प्रतिशतले घटेका छन्। होटल तथा पर्यटन समूहको सूचक भने ०.०१ प्रतिशतले मात्र ओरालो लागेको छ।

कारोबार रकमका हिसाबले जलविद्युत् समूह सबैभन्दा अगाडि रह्यो। उक्त समूहका कम्पनीमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। उत्पादन तथा प्रशोधन समूहमा ३२ करोड तथा वाणिज्य बैंक समूहमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

मूल्य बढ्ने कम्पनीतर्फ सर्वोत्तम पेन्ट्स अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। धौलागिरि लघुवित्तको मूल्य ११.९८ प्रतिशत, सीवाईसी लघुवित्तको ९.१४ प्रतिशत र सयपत्री हाइड्रोपावरको ६.२७ प्रतिशतले बढेको छ। हाथवे इन्भेस्टमेन्ट र खानीखोला हाइड्रोपावरको मूल्य पनि ३.३३ प्रतिशतले वृद्धि भएको छ।

यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको मूल्य ९.८३ प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्तको ८.६७ प्रतिशत तथा माउन्ट एभरेस्ट पावरको ७.७६ प्रतिशतले मूल्य घटेको छ।

सोमबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोरका सेयरमा बढी कारोबार भएको छ।

यससँगै लगातारको कमजोरीबीच नेप्से परिसूचक पुनः २६ सय अंकभन्दा तल आएको छ। सोमबारको कारोबारमा बजारका सबै समूहगत सूचक घट्नुका साथै कारोबार रकममा समेत कमी आएको देखिएको छ।

तपाईको प्रतिक्रिया