२४ खर्बभन्दा बढीको वैदेशिक व्यापार, आयातको दबाबले व्यापार घाटा अझै चर्कियो

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार एक वर्षको अवधिमा कुल आयात र निर्यातको संयुक्त कारोबार २४ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १५.९ प्रतिशतले बढी हो।

विवरणअनुसार समीक्षा अवधिमा आयात २० खर्ब ९६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतभन्दा बढीको वृद्धि हो। यसै अवधिमा निर्यात पनि बढेर ३ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। निर्यातमा सुधार देखिए पनि यसको वृद्धि आयातको तुलनामा कम रहेकाले व्यापार असन्तुलन यथावत् रहेको देखिन्छ।

तथ्यांकले व्यापार घाटा पनि बढेको संकेत गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

आयात–निर्यात अनुपातमा सामान्य सुधार देखिए पनि नेपाल अझै आयातमुखी अर्थतन्त्रकै अवस्थामा रहेको तथ्यांकले देखाउँछ। पछिल्लो आर्थिक वर्षमा नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा करिब ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेको विवरणमा उल्लेख छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा केही घटेको छ भने आयातको हिस्सा सामान्य रूपमा बढेको छ। यसले आन्तरिक उत्पादन र निर्यात विस्तारलाई थप प्रभावकारी बनाउने आवश्यकता रहेको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया