नेप्सेमा १४ अंकको सुधार, कारोबार रकम ४ अर्ब ६९ करोडमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको गिरावटपछि बजारमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ।

यस दिन ३३८ कम्पनीका १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँभन्दा बढी पुगेको छ। बुधबारको तुलनामा कारोबार रकम घटेको हो। अघिल्लो कारोबार दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

बजारमा कारोबार भएका कम्पनीमध्ये १५३ वटाको सेयर मूल्य बढेको, १११ वटाको घटेको तथा १२ वटाको मूल्य स्थिर रहेको छ।

सबैभन्दा बढी मूल्य वृद्धि हुने कम्पनीमा एभरेष्ट कलर लिमिटेड रह्यो, जसको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो। त्यस्तै स्नो रिभर्स लिमिटेडको सेयर १३.७१ प्रतिशत र अपोलो हाइड्रोपावरको ११.०४ प्रतिशतले उकालो लाग्यो।

यता, कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट क्रमशः उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

क्षेत्रगत परिसूचकतर्फ इन्भेस्टमेन्ट र अन्य एक उपसमूहबाहेक अधिकांश उपसमूहमा हरियाली देखिएको छ। तीमध्ये ट्रेडिङ उपसमूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया