विश्वकप क्रिकेट छनोटको समीकरण जोगाउन नेपाललाई नामिबियाविरुद्ध जित अनिवार्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाली समयअनुसार दिउँसो २ः२५ बजे सुरु हुने तालिका छ।

घरेलु मैदानमा सम्पन्न पछिल्ला दुई लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै आठमध्ये ६ खेल आफ्नो पक्षमा पारेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।

नेपाल र नामिबियाबीच हालसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले दुई खेलमा जित हात पारेको छ भने पाँच खेलमा पराजित भएको छ। दुवै टोलीबीचको एक खेल भने कुनै नतिजाविना समाप्त भएको थियो।

पछिल्ला दुई भेटमा भने नामिबियाले नेपालमाथि लगातार जित निकालेको थियो। सन् २०२४ मा नेपालमै सम्पन्न शृंखलामा नामिबियाले क्रमशः चार विकेट र दुई विकेटको अन्तरले जित दर्ता गरेको थियो।

विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान सुरक्षित गर्ने सम्भावना जीवित राख्न नेपालका लागि बाँकी रहेका सबै आठ खेल जित्नु महत्वपूर्ण मानिएको छ। यद्यपि नेपालले आफ्ना सबै खेल जिते पनि स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजाले समेत अन्तिम समीकरणमा प्रभाव पार्नेछ।

हालसम्म अमेरिका ग्लोबल छनोटमा स्थान सुनिश्चित गरिसकेको छ। बाँकी तीन स्थानका लागि भने सात टोलीबीच प्रतिस्पर्धा जारी छ।

अंकतालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ। समान संख्याका खेल खेलेको नामिबिया २२ अंकसहित सातौँ स्थानमा छ।

तपाईको प्रतिक्रिया