गैँडा सिकार प्रयासको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता

चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बन्दुक र गोलीसहित पक्राउ परेका दुई जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षामा खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले जेठ २३ गते नवलपुरको मध्यविन्दु नगरपालिका–३ स्थित ब्रह्मस्थानघाट क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका–१, सेतोपानी निवासी ६८ वर्षीय खडगनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५, फुर्केडाँडा निवासी ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्। उनीहरूबाट एक थान कार्तोस बन्दुक र त्यसमा प्रयोग हुने गोली बरामद गरिएको निकुञ्जले जनाएको छ।

निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू एकसिंगे गैँडाको सिकार गर्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशंका गरिएको छ।

यसैबीच, जेठ २४ गते खडगनारायण चौधरीको घरमा गरिएको खानतलासीका क्रममा बाघको दाँतजस्तो देखिने सात थान ओखेटोपहार, एक थान माउजर बन्दुक, केही गोली तथा भारतीय पाँच सय रुपैयाँ दरका १३६ थान नोट बरामद गरिएको जनाइएको छ।

निकुञ्ज कार्यालयका अनुसार साउन ४ गते उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा एकसिंगे गैँडा मार्ने उद्योग तथा ओखेटोपहार खरिद–बिक्रीसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको छ। घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको निकुञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया