अमेरिकाद्वारा क्यानडाका केही आयातित वस्तुमा ५० प्रतिशत भन्सार घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका भित्रिने केही वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त व्यवस्था आगामी ३० दिनभित्र कार्यान्वयनमा आउनेछ।

ट्रम्पले अमेरिकी सवारीसाधन, दुग्धजन्य उत्पादन र मदिराप्रति क्यानडाले अपनाएको नीतिलाई असमान भएको आरोप लगाउँदै त्यसको प्रत्युत्तरस्वरूप नयाँ भन्सार नीति ल्याइएको बताएका छन्।

नयाँ व्यवस्थाअनुसार वाइन, हक्की स्टिक, सिमेन्टलगायतका वस्तुमा उच्च भन्सार शुल्क लाग्नेछ। यद्यपि ऊर्जा, पोटास, महत्वपूर्ण खनिज तथा माछाजस्ता केही वस्तुलाई भने यो व्यवस्थाबाट छुट दिइएको छ।

यो निर्णयसँगै उत्तर अमेरिकी दुई प्रमुख व्यापारिक साझेदार अमेरिका र क्यानडाबीचको व्यापारिक सम्बन्धमा थप तनाव बढ्ने आकलन गरिएको छ।

यसबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही साताभित्र थप सक्रिय बनाउने तयारी भइरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले अमेरिकी निर्णयलाई एकपक्षीय व्यापारिक कदमको संज्ञा दिएका छन्।

कार्नीले अमेरिका–क्यानडा–मेक्सिको व्यापार सम्झौताको मर्मविपरीत अमेरिकाले विभिन्न भन्सार दर लागू गर्न थालेपछि यस्ता कदमको श्रृंखला सुरु भएको दाबी गरेका छन्। उनले क्यानडाको सार्वभौमसत्तासँग सम्बन्धित विषयप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

हाल अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ। त्यस्तै, क्यानडाको सफ्टवुड काठमा ३५ प्रतिशत तथा अमेरिकाबाहिर निर्मित सवारीसाधनका पार्टपुर्जामा २५ प्रतिशत कर कायम छ।

यसको प्रत्युत्तरमा क्यानडाले पनि अमेरिकी स्टिल, आल्मुनियम र केही सवारीसाधनमा २५ प्रतिशत भन्सार लागू गरिसकेको छ।

यसअघि ट्रम्पले क्यानडाबाट फैलिएको डढेलोको धुवाँ अमेरिकी सहरसम्म पुगेको विषय उठाउँदै भन्सार लगाउने चेतावनी दिएका थिए। तर, उनले हालै जारी गरेका कार्यकारी आदेशहरूमा भने डढेलो वा धुवाँसम्बन्धी कुनै व्यवस्था समावेश गरिएको छैन।

तपाईको प्रतिक्रिया