सभामुखको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि, निष्पक्षता कायम गर्न आग्रह

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् सञ्चालनमा निष्पक्षता र सबै दलप्रति समान व्यवहार आवश्यक रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आङ्देम्बेले संसद्भित्र विपक्षी दलहरूको धारणा र रणनीति बुझ्ने प्रयास गर्नु सभामुखको भूमिका नभएको उल्लेख गरे। उनका अनुसार सभामुखले कुनै राजनीतिक दलको प्रतिनिधिका रूपमा नभई सबै सांसदप्रति समान जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।

उनले संसद्मा कुनै विषयमा विपक्षी दलहरूले विरोध जनाउँदा सबै दलका प्रतिनिधिलाई आफ्ना धारणा राख्ने अवसर मिल्नुपर्ने धारणा व्यक्त गरे। एउटै व्यक्तिमार्फत सम्पूर्ण विपक्षीको मत प्रस्तुत गराउने अभ्यास उपयुक्त नहुने उनको भनाइ थियो।

आङ्देम्बेले पछिल्लो समय सदनमा विभिन्न विवादित अभिव्यक्तिहरू आए पनि प्रतिपक्षले संसद्को नियमित कार्यसूची अघि बढाउन सहयोग गर्दै आएको बताए। उनले यसलाई प्रतिपक्षको कमजोरीका रूपमा नभई राष्ट्रिय हितलाई प्राथमिकता दिएको सकारात्मक दृष्टिकोणका रूपमा बुझ्नुपर्ने उल्लेख गरे।

उनका अनुसार सत्ता पक्ष र प्रतिपक्षबीच आवश्यक समन्वयको अभाव हुँदा संसद्मा बारम्बार अवरोध र असहज अवस्था सिर्जना हुने गरेको छ। त्यसैले सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षबीच संवाद र सहकार्य आवश्यक रहेको उनले जोड दिए।

तपाईको प्रतिक्रिया