बागमती प्रदेशमा राजनीतिक समीकरण बदलियो, एमाले सरकारबाट बाहिरिँदा कांग्रेस अल्पमतमा

काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले दलको निर्णय तथा विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिएका हुन्।

मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा एमालेका तर्फबाट सरकारमा रहेका सबै मन्त्रीले तत्काल लागू हुने गरी संयुक्त रूपमा पदत्याग गरेको उल्लेख गरिएको छ। साथै, उक्त राजीनामा स्वीकार गर्दै आवश्यक संवैधानिक र कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

हाल बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। एमाले सरकारबाट अलगिएपछि प्रदेश सरकारको अंकगणितमा परिवर्तन आएको छ भने कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको अवस्था सिर्जना भएको छ।

तपाईको प्रतिक्रिया