दुई शक्तिशाली राष्ट्रको वार्ता: भ्रमण र व्यापार सहमति, ताइवान मुद्दा टुंगिएन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स बनमा पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे प्रतिक्रिया दिएका छन्। करिब १५ मिनेटसम्म प्रश्नको उत्तर दिएका ट्रम्पले चीनसँग भएको सम्झौताबारे थप विवरण भने सार्वजनिक गरेका छैनन्।

ट्रम्पले चीनसँगको ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्त्व र धातु) व्यापार विवाद समाधान भएको बताएका छन्। उनले भने, “अब चीनबाट कुनै अवरोध छैन।”

महत्त्वपूर्ण दुर्लभ पृथ्वी खनिजको प्रशोधनमा चीनको एकाधिकार रहेको छ। चीनले हालसालै यसको निर्यातमा आफ्नो नियन्त्रण बढाएको थियो। तर सम्झौता अन्तर्गत के–के विषयमा सहमति भएको छ भन्नेबारे ट्रम्पले स्पष्ट जानकारी दिएका छैनन्।

अमेरिकाले चीनबाट आउने सबै सामानमा कर तुरुन्तै घटाउने योजना ट्रम्पले सार्वजनिक गरेका छन्। यी कर पहिले फेन्टानिलसँग सम्बन्धित रसायन आपूर्तिमा लगाइएको थियो।

ट्रम्पले भने कि युक्रेनमा चलिरहेको युद्धमा अमेरिका र चीनले सँगै काम गर्ने अपेक्षा गरिएको छ। तर वार्तामा दुवै नेताबीच ताइवानको मुद्दा उठेन।

ट्रम्पले यो वार्ता अत्यन्त सफल र महान् बैठक भएको बताए। उनले अर्को वर्ष अप्रिलमा चीन भ्रमण गर्ने जानकारी दिए। यस्तै, सी जिनपिङले आफ्नो भ्रमणपछि संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तयारीमा रहेको ट्रम्पले बताए।

तपाईको प्रतिक्रिया