बेइजिङमा ट्रम्प र सीबीच उच्चस्तरीय वार्ता

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। दुई शक्तिशाली राष्ट्रका नेताबीच भएको यो भेटलाई विश्व राजनीतिमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

भेटका क्रममा ट्रम्पले राष्ट्रपति सीसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीको नेतृत्वको प्रशंसा गर्दै अमेरिका–चीन सहकार्यलाई महत्त्वपूर्ण बताएका थिए।

यता राष्ट्रपति सी जिनपिङले भने अमेरिका र चीनबीचको प्रतिस्पर्धा द्वन्द्वमा रूपान्तरण हुन नदिन दुवै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले सहकार्यबाट दुवै देशलाई लाभ पुग्ने र टकरावले विश्व व्यवस्थामै असर पार्न सक्ने चेतावनी दिनुभयो।

भेटवार्तामा व्यापार, विश्व अर्थतन्त्र, इरान संकट तथा रणनीतिक सम्बन्धका विषय प्रमुख रूपमा उठाइएको बताइएको छ। अमेरिकी पक्षले व्यापारिक सहकार्य, कृषि उत्पादन खरिद तथा आर्थिक सम्बन्ध सुधारका विषयमा चीनसँग स्पष्ट प्रतिबद्धता खोजिरहेको जनाइएको छ।

यसैबीच इरान र मध्यपूर्वको अवस्थाले पनि वार्तामा विशेष स्थान पाएको छ। ऊर्जा आपूर्ति र विश्व बजारमा परेको असरका कारण अमेरिका र चीनबीच यस विषयमा समेत परामर्श भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनले अमेरिका–चीन सम्बन्धलाई प्रतिस्पर्धाभन्दा सहकार्यतर्फ लैजानुपर्ने धारणा दोहोर्‍याएको छ भने अमेरिकी पक्षले आर्थिक तथा रणनीतिक हितलाई केन्द्रमा राखेर छलफल अघि बढाएको देखिएको छ।

बेइजिङमा ट्रम्पको स्वागत औपचारिक र भव्य रूपमा गरिएको थियो। भ्रमणका क्रममा दुवै देशका उच्च अधिकारी तथा व्यवसायिक प्रतिनिधिहरूको सहभागिताले भेटवार्तालाई आर्थिक र कूटनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया