ट्रम्पको ट्यारिफको विरोधमा भारतले अमेरिकाबाट हतियार खरिद स्थगित गर्यो ?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा ५० प्रतिशत भन्सार महसुल लगाएको निर्णयपछि भारतले अमेरिकाबाट हतियार तथा विमान खरिद गर्ने योजना स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोयटर्सले भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भन्यो, भारतले रक्षामन्त्री राजनाथ सिंहलाई हतियार खरिदको घोषणा गर्न वासिङ्टन पठाउने योजना बनाएको थियो, तर उक्त भ्रमण रद्द गरिएको छ। भारतले जनरल डाइनामिक्सको ‘स्ट्राइकर’ लडाकु गाडी र रेथिअन तथा लकहिड मार्टिनका ‘ज्याभलिन’ एन्टिट्यांक क्षेप्यास्त्र खरिदका लागि भइरहेको छलफल स्थगित गरेको छ।

तर, भारत सरकारले यसबारे जारी गरेको विज्ञप्तिमा हतियार वार्ता रोकिएको खबरलाई ‘झूटो र कपोलकल्पित’ भनेको छ।

यसअघि ट्रम्पले भारतीय सामग्रीमाथि थप २५ प्रतिशत भन्सार महसुल थपेपछि दुई देशबीच सम्बन्धमा तनाव बढेको छ। ट्रम्पले रूस–युक्रेन युद्धमा मस्कोलाई आर्थिक सहयोग गरेको भन्दै भारतलाई यो ट्यारिफ लगाएको बताएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय निर्यातमा लगाइएको भारी करको असरमा छलफल गर्न उच्चस्तरीय मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। तर, अमेरिकी ट्यारिफ र दुई देशबीचको सम्बन्ध कस्तो दिशा लिन्छ भन्ने कुरामा अस्पष्टता रहेकाले हतियार खरिदको प्रक्रिया तत्काल अघि बढ्न नसक्ने भारतीय अधिकारीहरूले बताएका छन्।

ट्रम्पले रुस–युक्रेन युद्धमा मस्कोमाथि दबाब दिन ५० दिनको समयसीमा दिएका थिए, जसलाई पछि घटाएर १२ दिन बनाइएको थियो। भारत रुसी तेलको दोस्रो ठूलो खरिदकर्ता भएको कारण पनि यस विषयले दुई देशबीच थप तनाव सिर्जना गरेको छ।

यसैबीच, अमेरिकी ट्यारिफ आगामी अगस्ट २७ देखि लागू हुने छ।

तपाईको प्रतिक्रिया