अमेरिकाले पाकिस्तानसँग तेल भण्डार विकास गर्ने सम्झौता गर्यो

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात शुल्क घोषणा गरेलगत्तै पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्ने सम्झौता गरेका छन्। उक्त निर्णय भारतप्रति कूटनीतिक दबाबको रूपमा हेरिएको छ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेखेका छन्, “हामीले भर्खरै पाकिस्तानसँग एउटा ऐतिहासिक सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार अमेरिका र पाकिस्तानले संयुक्त रूपमा पाकिस्तानका तेल भण्डारहरूको विकास गर्नेछन्।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत ट्रम्पप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले लेखेका छन्, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौता अन्तिम चरणमा पुगेको छ।”

बुधबार, ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लागु गर्ने घोषणा गरेका थिए। भारतले रुस तथा इरानबाट तेल खरिद गरिरहेको भन्दै उनले यस कदमलाई अमेरिका हितमा आवश्यक रहेको बताएका थिए। यसपछि इरानबाट तेल किन्नेसम्बन्धी केही भारतीय कम्पनीहरूमा प्रतिबन्धसमेत लगाइएको थियो।

ट्रम्पले लेखेका छन्, “अमेरिका र पाकिस्तानबीचको यो नयाँ सम्झौता अन्तर्गत हामी नेतृत्व गर्ने तेल कम्पनी छनोटको प्रक्रियामा छौं। यदि सबै कुरा योजना अनुसार अघि बढ्यो भने सम्भवतः एक दिन पाकिस्तानले भारतलाई तेल बेच्नेछ।”

उनले थपे, “थुप्रै देशले भन्सार शुल्कमा छुट मागिरहेका छन्। यस्ता सबै कदमहरूले अमेरिकाको व्यापार घाटा कम गर्न सहयोग पुर्‍याउनेछन्। पूर्ण विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। धन्यवाद – ‘मेक अमेरिका ग्रेट अगेन’।”

यसअघि, पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इसहाक डारले पनि अमेरिका–पाकिस्तान व्यापार सम्झौता नजिकिएको बताएका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि उनले केही दिनभित्रै सम्झौता टुंगिने जानकारी दिएका थिए।

संयुक्त वक्तव्य अनुसार, दुवै मुलुक खनिज तथा खानी क्षेत्रमा व्यापार र सहकार्य विस्तार गर्न सहमत भएका छन्।

सन् २०२4 मा अमेरिका–पाकिस्तान बीचको व्यापारमा अमेरिका ३ अर्ब डलर घाटामा रहेको थियो। अमेरिकाले पाकिस्तानमा २.१ अर्ब डलरको सामान निर्यात गरे पनि पाकिस्तानबाट ५.१ अर्ब डलरको आयात गरिएको थियो।

तपाईको प्रतिक्रिया