अमेरिकी आयात नीतिमा कडा परिवर्तन : ट्रम्पले १४ देशका वस्तुमा ४० प्रतिशतसम्म शुल्क घोषणा

काठमाडौं — अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ विभिन्न देशबाट आयात हुने वस्तुहरूमाथि २५ देखि ४० प्रतिशतसम्मको आयात कर लगाउने योजना सार्वजनिक गरेका छन्।

अमेरिकी सञ्चारमाध्यम CNBC का अनुसार, ट्रम्पले आगामी अगस्ट १ देखि नयाँ कर दर लागू गर्ने जानकारी सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत दिएका हुन्। उनले विभिन्न देशका राष्ट्रप्रमुखहरूलाई सम्बोधन गर्दै पत्रहरू सार्वजनिक पनि गरेका छन्।

प्राप्त जानकारीअनुसार, जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, ट्युनिसिया लगायत देशका वस्तुमा २५ प्रतिशत, दक्षिण अफ्रिका र बोस्निया-हर्जगोभिनाबाट आयात हुने वस्तुमा ३० प्रतिशत, इन्डोनेसियाली वस्तुहरूमा ३२ प्रतिशत, बंगलादेश र सर्बियाका वस्तुमा ३५ प्रतिशत तथा कम्बोडिया र थाइल्यान्डबाट आउने वस्तुहरूमा ३६ प्रतिशत आयात कर लगाइनेछ।

यसबाहेक, लाओस र म्यानमारबाट आयात हुने वस्तुहरूमा सर्वाधिक ४० प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था गरिएको ट्रम्पले हस्ताक्षर गरेका पत्रहरूमा उल्लेख छ।

ट्रम्पले यो निर्णय विभिन्न सरकारी निकाय र सल्लाहकारहरूको सुझावका आधारमा लिएको बताएका छन्। ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले आगामी दिनमा अन्य मुलुकहरूसँग सम्बन्धित थप पत्रहरू पनि सार्वजनिक गरिने जानकारी दिएकी छन्।

ट्रम्पको यो निर्णयले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा प्रभाव पार्ने अनुमान गरिएको छ भने विश्व बजारले यसप्रति कस्तो प्रतिक्रिया दिने हो भन्ने विषय चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया