ट्रम्प प्रशासनको अनुदान कटौतीले लाखौंको ज्यान जोखिममा: लान्सेट अध्ययन

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैदेशिक अनुदान कटौती नीतिका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा गम्भीर असर पर्ने चेतावनी एक अध्ययनले दिएको छ। प्रतिष्ठित मेडिकल जर्नल द लान्सेट मा प्रकाशित एक अध्ययनअनुसार ट्रम्प प्रशासनको निर्णयका कारण सन् २०३० सम्म globally झन्डै १ करोड ४० लाख मानिस समयअघि नै मृत्युको जोखिममा पर्न सक्ने अनुमान गरिएको छ।

रिपोर्ट अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुने छन्। अध्ययनका सह–लेखक डेभिड रसेलाका अनुसार यस प्रकारको अनुदान कटौतीको असर महामारी वा ठूलो युद्धले पुर्‍याउने असर सरह गम्भीर हुनसक्ने देखिएको छ।

“बिगत दुई दशकमा विकासशील राष्ट्रहरूको स्वास्थ्य क्षेत्रमा भएको प्रगति एकैचोटि ठप्प हुन सक्ने खतरा देखिएको छ,” रसेलाले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरूको टोलीले १३३ राष्ट्रको तथ्याङ्क विश्लेषण गर्दै सन् २००१ देखि २०२१ सम्मको अवधिमा अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (यूएसएड) को सहयोगले करिब ९ करोड १० लाख मानिसको ज्यान बचाउन मद्दत पुगेको निष्कर्ष निकालेका छन्।

तर, मार्च महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले यूएसएडका ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको जानकारी दिएका थिए। यद्यपि हालसम्म करिब १ हजार परियोजनाहरू अझै सञ्चालनमा रहेको उनले बताएका छन्।

संयुक्त राज्य अमेरिका हालसम्मकै सवैभन्दा ठूलो मानवीय सहायता दिने राष्ट्र हो। अमेरिका विश्वका ६० भन्दा बढी मुलुकमा विविध सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया