राष्ट्रिय सुरक्षागार्ड तैनाथीपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीमा आगजनी

लस एञ्जलस — राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथी गरेपछि आइतबार यहाँ हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग (फ्रीवे) समेत अवरुद्ध गरेका थिए।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनकारीहरूले सवारीसाधनमा आगजनी गर्दा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए। भिड नियन्त्रणका लागि सुरक्षाकर्मीहरूले विस्फोटक पदार्थको समेत प्रयोग गरेका थिए जसपछि साँझतिर अधिकांश प्रदर्शनकारी तितरबितर भएका थिए।

तर केही प्रदर्शनकारीहरूले सडकमा बनाइएको अवरोध पछाडि बसेर प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिरहे। क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि समेत आक्रमण भएपछि उनीहरू ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए।

४० लाखभन्दा बढी जनसंख्या रहेको लस एञ्जलसमा यो प्रदर्शन सहरको केन्द्र भागमा केन्द्रित थियो। ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि भइरहेको विरोधको यो सबैभन्दा तीव्र दिन थियो।

करिब ३०० सुरक्षागार्ड तैनाथ गरिएको थियो, जसले जनतामा आक्रोश र तनाव बढाएको थियो। यी सुरक्षागार्डहरूलाई संघीय भवनहरूको सुरक्षा गर्न लगाइएको थियो, विशेष गरी विरोधको केन्द्रबिन्दु बनेको डिटेन्सन सेन्टरको सुरक्षा सुनिश्चित गर्न।

लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको’ स्वीकार गरेका छन्।

बिहानैदेखि सुरक्षागार्डहरू लामबद्ध भई राइफल र दङ्गा नियन्त्रणका लागि प्रयोग हुने ढालसहित तैनाथ थिए। प्रदर्शनकारीहरूले ‘घर फर्क’ भन्ने नारा लगाउँदै विरोध जनाएका थिए।

तपाईको प्रतिक्रिया