ट्रम्प र मस्कबीच आरोप–प्रत्यारोप

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलन मस्कबीच पछिल्लो केही दिनयता सार्वजनिक रूपमा आरोप–प्रत्यारोप र धम्कीको श्रृंखला चलेको छ। सरकारी खर्चबारे मतभेदबाट सुरु भएको विवाद अहिले व्यक्तिगत आरोप र कम्पनीहरूमाथिको संभावित कारबाहीसम्म पुगेको छ।

एलन मस्कले एक हप्ताभन्दा बढी समयदेखि राष्ट्रपति ट्रम्पको प्रमुख खर्च विधेयकको विरोध गर्दै सामाजिक सञ्जालमार्फत अभियान चलाउँदै आएका थिए। बिहीबार ट्रम्पले जर्मन चान्सलरसँग ओभल अफिसमा भएको भेटका क्रममा मस्कप्रति असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेपछि विवाद अझ चर्किएको हो।

यसको जवाफमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पमाथि तीव्र प्रहार गर्दै, बिना प्रमाण ट्रम्पको नाम बाल यौन अपराधी जेफ्री एप्स्टीनसँग जोडिएको फाइलहरूमा देखिएको दाबी गरेका छन्।

ट्रम्पले त्यसको प्रतिकारमा आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मस्कले “पागलपन” देखाएको आरोप लगाउँदै, मस्कका कम्पनीहरूसँग भएका सरकारी ठेक्का तोड्न सकिने चेतावनी दिएका छन्। उनका अनुसार मस्कलाई सरकारी प्रशासनबाट हटाउन पनि भनिएको थियो।

यो वाकयुद्धको आर्थिक असर टेस्लाको सेयरमा देखिएको छ। कम्पनीको सेयर मूल्य १४ प्रतिशतले घटेपछि टेस्लाको बजार मूल्य एक ट्रिलियन डलरभन्दा तल झरेको छ।

एलन मस्कले हालै अमेरिकी सरकारी कार्यदक्षता विभाग (DOJ) मा रहँदै अत्यधिक खर्च नियन्त्रण गर्ने जिम्मेवारीबाट राजीनामा दिएका थिए। यही पृष्ठभूमिमा उनी र ट्रम्पबीचको विवाद सतहमा आएको हो।

ह्वाइट हाउसको प्रतिक्रिया

विवाद चुलिँदै जाँदा ह्वाइट हाउसले मस्कद्वारा उठाइएका एप्स्टीन सम्बन्धी आरोपहरूलाई “दुर्भाग्यपूर्ण” भनेको छ। राष्ट्रपति ट्रम्पका सहयोगी स्टिभ ब्याननले त मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सलाई सरकारद्वारा जफत गर्नुपर्ने माग समेत गरेका छन्।

स्पेसएक्सले नासासँग सहकार्य गर्दै अमेरिकी सरकारसँग अरबौँ डलरका ठेक्का प्राप्त गर्दै आएको छ, जसमा विभिन्न अन्तरिक्ष अनुसन्धान परियोजना समावेश छन्।

तपाईको प्रतिक्रिया