स्वास्थ्य अवस्थालाई कारण देखाउँदै महराले छाडे सक्रिय राजनीति

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग रहने निर्णय सार्वजनिक गरेका छन्।

शुक्रबार जारी गरिएको विज्ञप्तिमार्फत उनले स्वास्थ्य अवस्थाका कारण अब सक्रिय राजनीतिक गतिविधिमा संलग्न हुन नसक्ने बताएका हुन्।

महराले पछिल्लो समय स्वास्थ्यले अपेक्षाअनुसार साथ नदिएकाले पार्टीका नियमित जिम्मेवारी तथा गतिविधिमा विगतजस्तै सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न कठिन हुँदै गएको उल्लेख गरेका छन्।

उनका अनुसार नसा र मांसपेशीसँग सम्बन्धित ‘एट्रोफी’ समस्याबाट प्रभावित भएकाले स्वास्थ्य अवस्थाले निरन्तर चुनौती सिर्जना गरिरहेको छ। स्वास्थ्यमा अपेक्षित सुधार नआएकै कारण सक्रिय राजनीतिक जिम्मेवारीबाट पछि हट्ने निर्णय लिनुपरेको उनले बताएका छन्।

विज्ञप्तिमा उनले पार्टीप्रति आफ्नो प्रतिबद्धता यथावत् रहने उल्लेख गर्दै स्वास्थ्यका कारण सक्रिय भूमिकाबाट मात्र टाढा रहने स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया